काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, केन्द्रीय सदस्यहरूमा कोरोना देखिएन

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, केन्द्रीय सदस्यहरूमा कोरोना देखिएन
Spread the love

काठमाडौं, वैशाख १५ (ई-रैवार)

कांग्रेस केन्द्रीय समिति बैठक बस्ने भएको छ । पीसीआर परीक्षण गराएका कांग्रेस नेताहरुमा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आज केन्द्रीय समिति बैठक बस्ने भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पीसीआर परीक्षण गराएका कांग्रेस नेताहरुमा रिपोर्ट नेगेटिभ आएपछि आज दिउसो २ बजे केन्द्रीय समिति बैठक बस्ने जानकारी दिए । आजको बैठकमा १४ औं महाधिवेशन, पार्टी समायोजन, क्रियाशील सदस्यता तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने पौडेलले बताए ।

नेपाली काँग्रेसको क्रियाशील सदस्यता बुझाउन पछिल्लो पटक थप गरेको समय आज सकिदैछ। चैत मसान्तसम्म बुझाउनु पर्ने समय तोकिएकोमा सबै जिल्लाबाट विवरण नआएकाले आजसम्म बुझाउन काँग्रेसले समय थप गरेको थियो ।

आजसम्म पनि सबै जिल्लाबाट क्रियाशील सदस्यता विवरण आईनसकेको काँग्रेसले जनाएको छ। आज बस्ने काँग्रेस केन्द्रीय समिति बैठकमा विवरण नआएका जिल्लालाई समय थप गर्ने विषयमा छलफल हुनेछ। काँग्रेसले क्रियाशील सदस्यता विवरण पठाउन अहिलेसम्म ३ पटक समय थप गरिसकेको छ।

काँग्रेसले करिब ७० जिल्लाले क्रियाशील सदस्यताको विवरण अनलाइनबाट इन्ट्री गरिसकेको छ । ‘अहिलेसम्म करिब ७० जिल्लाबाट साढे ७ लाख क्रियाशील सदस्यको विवरण आइसकेको छ,’पौडेलले भने,‘आज राती १२ बजेसम्म ४ वटा जिल्ला बाहेक बाँकी जिल्लाको विवरण आइसक्छ।’

सोलुखुम्बु, बारा, सप्तरी र सिन्धुपाल्चोक जिल्लालाई भने वैशाख मसान्तसम्म विवरण पठाउन समय दिइएको छ। समायोजन पछि टुङ्गो लागेका यी जिल्लालाई वैशाख मसान्तसम्मको समय दिइएको मुख्य सचिव पौडेलले बताए।

काँग्रेसले क्रियाशील सदस्यको सङ्ख्या दोब्बर बनाउने लक्ष्य राखेको छ। ‘१३ औँ महाधिवेशन साढे ४ लाख क्रियाशील सदस्य थिए,’उनले भने,‘१४ औँ महाधिवेशनमा सबै जिल्लाबाट विवरण आउँदा ८ लाख पुग्छ।’

बैठकमा महाधिवेशनका अलवा कोरोना महामारी र संघ र प्रदेश सत्ता समीकरणका सन्दर्भमा पनि छलफल हुने बुझिएको छ । १४ औं महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम, क्रियाशील सदस्यतालगायत विषयमा आज केन्द्रीय समितिमा छलफल हुने नेताहरूले बताएका छन्।

यसअघि सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले संख्या पुगेपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेको थियो। जसपाले निर्णय नगरेकोले अविश्वास प्रस्तावमा अहिले नै अगाडि बढ्न नसकिएको कांग्रेसको भनाइ छ। कांग्रेसले प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ ।

काँग्रेसले केन्द्रदेखि प्रदेशसम्म नेकपा एमाले नेतृत्वको सरकार विस्थापनका लागि अग्रसरता लिएको देखिन्छ । केन्द्र र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) मा देखिएको विवादले सरकार विस्थापनमा जटिलता खडा भएको छ । जसपा अनिर्णित हुँदा काँग्रेसले कदम चाल्न सकेको छैन ।