कैलाली,फागुन १४ (ईं-रैवार)
मोहनपुर–गेटा एयरपोर्ट सडक खण्ड निर्माणपछि मर्मतसम्भार नगरिँदा थोत्रिएको छ । निर्माणको ७ वर्षदेखि मर्मतसम्भार नगरिँदा दिनहुँ एयरपोर्ट आउजाउ गर्ने यात्रुले सास्ती खेप्नु परेको छ । वर्षौदेखि सडक बीचमा परेका खाल्डा खुल्डीले धनगढी बिमानस्थलको शोभालाई विगारिदिनुका साथै थप मर्मत सम्भार नहुँदा दिनदिनै थोत्रिँदै गएको छ ।
‘धनगढी बिमानस्थल गेटा जाँदा कालोपत्रे सडकमा परेका खाल्डाखुल्डीले यात्रा दिक्दार लाग्छ,’ धनगढीका खगेन्द्र ओझाले भने,‘आफन्तलाई एयरपोर्ट छोड्न मोटरसाइकलमा जाँदा थोत्रिएको बाटोले यात्रा झुर बनाइदिन्छ ।’ कालोपत्रे सडकको बीचबीचमा परेका खाल्डाखुल्डीले सवारी साधन समेतलाई थोत्राउने गरेको उनी बताउँछन् ।
सुदूरपश्चिम आउँदा राजधानी काठमाडौंसँग जोड्ने एक मात्रै विमानस्थल गेटा आउजाउ गर्ने सडकको हालत बेहाल भएको बताउँदै अर्का स्थानीय राजेन्द्र चौधरीले भने,‘यो सडक भएर प्रधानमन्त्रीदेखि प्रदेश सरकारका मुख्यमन्त्री मन्त्रीका गाडी दिनहुँ हुइँकिन्छन्, तर सडक बनाउन कसैलाई चासो छैन ।’ सडकमा परेका खाल्डाखुल्डीले सवारी साधन दुर्घटनाको भय पनि बढेकोप्रति उनी चिन्ता गर्छन् । ‘यो सडकमा सवारी चाप बढेको हुन्छ,’ उनले भने,‘यस्तैमा थोत्रो सडक हुँदा दुर्घटनाको भय पनि उत्तिकै छ ।’ सडक मर्मतसम्भारका लागि अहिलेसम्म कसैले पनि चासो नदिएको बताउँदै उनले भने,‘यो सडक बनेदेखि अहिलेसम्म कसैले पनि मर्मतसम्भार गरेको थाहा छैन मलाई ।’
काठमाडौंदेखि मन्त्री तथा नेताहरु विमानस्थलमा ओर्लदा भने सयौं नेता तथा कार्यकर्ता स्वागतका लागि फूलमाला लिएर यही सडक भएर गेटा पुग्ने गरेको बताउँदै स्थानीय रविन्द्र जोशीले भने,‘तर यो सडकको दुर्दशा यस्तो हुँदा पनि कसैले मर्मतसम्भारका लागि पहल गरेको देखिएन ।’ मोहनपुरदेखि गेटा विमानस्थलसम्मको दुई दशमलव १ किलोमिटर कालोपत्रे सडक खण्ड जीर्ण बन्नैलाग्दा पनि कसैले आवाज नउठाएको बताउँदै उनले भने,‘यो सडकको अवस्थाका बारेमा सबै जानकार छन्, तर पनि कसैले आवाज उठाउँदैन ।’ आर्थिक वर्ष २०७०/०७१ मा निर्माण गरिएको कालोपत्रे सडक त्यसपछि भने मर्मतसम्भार नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इञ्जिनियर लक्ष्मणदत्त जोशी बताउँछन् । ‘यो सडक निर्माण भएदेखि मर्मतर सम्भार भएको छैन,’ उनले भने,‘सडक हरेक वर्ष नियमित मर्मतसम्भार हुनुपर्ने हो ।’ तीन वर्षदेखि सडक डिभिजन कार्यालय महेन्द्रनगर मातहतबाट छुटेको बताउँदै उनले भने,‘हामीसँग अहिले यो सडक छैन, हामीले पनि केही गर्न सक्दैनौँ ।’
एयरपोर्ट सडकको अवस्था दयनिय भएको बताउँदै धनगढी उपमहानगरपालिकाका इञ्जिनियर दीजराज भट्टले भने,‘मोहनपुर–एयरपोर्ट सडक निर्माण डिभिजन कार्यालय महेन्द्रनगरले गरेको हो, मर्मत सम्भार पनि उसैको जिम्मा थियो ।’ पछिल्लो समयमा मर्मत सम्भार उपमहानगरपालिकाले सडक डिभिजन कार्यालयलाई पत्राचार गरेको बताउँदै उनले भने,‘सडक मर्मत सम्भार गरिदिन भनेर हामीले डिभिजन कार्यालय महेन्द्रनगरलाई पत्राचार गर्यौँ, तर उसले मर्मतका लागि हामीसँग बजेट छैन भनेपछि रोकिएको हो ।’ सडक डिभिजन कार्यालयले पनि मर्मतका लागि बजेट अभाव भएको देखाएपछि यसपालि भने उपमहानगरपालिकाले आफ्नै बजेटले सामान्य मर्मत सम्भार गर्ने लक्ष्य लिएको उनले बताए । ‘कसैले चासो नदेखाएपछि मोहनपुर–एयरपोर्ट सडकलाई हामीले सामान्य मर्मतसम्भार गर्ने भएका छौँ,’ उनले भने,‘यो सडकलाई चौडा गर्ने र पूर्णरुपमा जिम्मा कसले लिने भन्ने कुरा अहिलेसम्म टुंगो लागेको छैन ।’ सडक संघीय सरकार वा प्रदेश सरकारले जिम्मा नलिए स्थानीय सरकारले लिने बताउँदै उनले भने,‘हामीलाई आधिकारिक रुपमा जिम्मा लिन भनेपछि हामी लिन्थ्यौँ, तर कसले जिम्मा लिने भन्ने अहिलेसम्म टुंगो लगाइएको छैन ।’
मेयर नृपबहादुर वडले भने,‘सडकको अवस्था दयनिय छ, हामीले मर्मतसम्भारका लागि प्रदेश सरकारसँग आग्रह गर्यौँ, सरकारले सुनेन ।’ गेट एयरपोर्टको सडक सबैको भएको बताउँदै उनले भने,‘पटक–पटक प्रदेश सरकारलाई आग्रह गर्दा पनि नसुनेपछि यसपटक भने हामी आफैले मर्मत सम्भार गर्ने भएका छौँ ।’ मोहनपुर–एयरपोर्ट सडकलाई एक लेयर कालोपत्रे गरेर मर्मत सम्भार गरिने उनले बताए । नागरिक दैनिकबाट


