नेकपा विवाद टुंगो नलागेसम्म कुनै पक्षसँग सहकार्य नगर्ने कांग्रेसको निर्णय

नेकपा विवाद टुंगो नलागेसम्म कुनै पक्षसँग सहकार्य नगर्ने कांग्रेसको निर्णय
Spread the love

काठमाण्डौँ, फागुन १३ (ई-रैवार) 

कम्युनिस्ट पार्टी (नेकपा) विवादको टुंगो नलागेसम्म कुनै पक्षसँग पनि सहकार्य नगर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले सहकार्यका लागि नेकपा विवादको अन्तिम टुंगोसम्म कुर्ने निर्णय गरेको हो।

बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय मागेका थिए । भावी सरकारका लागि हतार नगर्न नेताहरुले बैठकमा सुझाव दिएका थिए। ‘नेकपाको विवाद अन्तिम टुंगो नलागेसम्म कांग्रेस कसैको पक्ष वा विपक्षमा उभिन सक्दैनौं भन्ने हाम्रो निष्कर्ष रह्यो’ बैठकपछि नेता अर्जुननरसिंह केसीले भने ।

बैठकले विकसित राजनीतिक घटनाक्रमका बारेमा परिस्थिति हेरेर निर्णय गर्ने निष्कर्ष निकालेको हो । बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले परिस्थितिअनुसार पार्टीले निर्णय लिने सर्वसम्मत निष्कर्ष निकालेको जानकारी दिए ।

“संसद्को पुनर्स्थापना होस्, मिटिङ होस् । परिस्थिति कसरी अगाडि बढ्छ, जसरी परिस्थिति अगाडि बढ्छ त्यो अवस्थामा नेपाली कांग्रेसले निर्णय लिन्छ । अहिले यो गर्छु, त्यो गर्छु, यसलाई समर्थन गर्छु वा उलाई समर्थन गर्छु भन्ने अवस्था अहिलेको अवस्था होइन । यो नै हाम्रो समग्र सर्वसम्मत छलफलको निष्कर्ष हो,” उनले भने ।