सेती प्राबिधिक शिक्षालय अन्तर्गत ओभरसेयर पहिलोवर्षका प्रशिक्षार्थीहरुबाट गतबर्ष जनही दुईहजार पाँचसयका दरले रकम उठाईयो । सो रकम टिसर्ट, ट्रयाकसुट र परिचयपत्र बनाउने भनि उठाईएको थियो । त्यसका लागि विद्यालय व्यवस्थापन तथा सञ्चालन समितिले कुनै निर्णय गरिएको थिएन् । ईञ्जिनियरिङ विभागले आफुखुशी उठाएको सो रकमबाट निम्न गुणस्तरको सामाग्री ल्याईयो त्यसपछि प्रशिक्षार्थीले रकम फिर्ता माग्दा प्राक्टीकल नम्बर घटाउने धम्की पाउन थालेका छन् ।
डोटी फागुन १३(ई–रैवार)
२०७६ पुसको पहिलो साता सेती प्राविधिक शिक्षालयको ओभरसियर पहिलोबर्षको पहिलो सेमेस्टरका कक्षाहरुमा प्रशिक्षार्थीहरुबाट जनही दुईहजार पाँचसयका दरले रकम संकलन गर्न ‘उर्दी’ भयो । विद्यार्थीहरुका अनुसार यसरी उर्दी गर्ने व्यक्ती थिए–शिक्षालयको ईञ्जिनियरिङ डिपार्टमेन्टका प्रमुख दीपक चौधरी र प्रशिक्षक युवराज खत्री । पुसको १० गतेभित्र सो रकम कक्षाका ‘डिआई’(अनुशासन प्रमुख) र ‘सिआर’(कक्षा प्रतिनिधी, प्रशिक्षार्थी कल्याण समिति)ले उठाएर प्रशिक्षक खत्रीलाई दिन भन्ने निर्देशन थियो ।
सो रकम एउटा टी–सर्ट, एउटा ट्रयाक सुट र एउटा परिचयपत्र बनाउने भन्दै उठाउन भनिएको थियो । यस्तो बिषयमा शिक्षालय व्यबस्थापन र सञ्चालक समितिले कुनै निर्णय गरेको थिएन् । शिक्षालय व्यवस्थापनका अनुसार शिक्षालयले आफ्नै ‘ड्रेस–कोड’ निर्धारण गरेको हुन्छ । त्यसभित्र यो परेको देखिन्न । परिचयपत्रको हकमा शिक्षालयले भर्ना हुँदा नै शुल्कका रुपमा सबैविद्यार्थीसंग एकसय लिईसकेको हुन्छ ।
सेती प्राबिधिक शिक्षालयमा नियमित र प्रायोजितगरी ओभरसियरका दुईवटा कक्षाहरु सञ्चालनमा छन् । जसमा दुबै कक्षामा ४१-४१ जना प्रशिक्षार्थीहरु अध्ययनरत छन् । ती कक्षाका प्रशिक्षार्थीहरुका अनुसार एउटा कक्षाको प्रतिप्रशिक्षार्थी दुईहजार पाँचसयका दरले ४१ जनाको एकलाख दुईहजार पाँचसय रकम संकलन भयो । दुबै कक्षाको–दुईलाख पाँच हजार ।

सो रकम दुबै कक्षाका डिआई र सिआरहरुले प्रशिक्षक खत्रीलाई उपलब्ध गराए । केही नगदै दिए, केही उनको बैंक खातामा जम्मा गरे । ‘सरहरुले भनेअनुसार नै हामीले सबै साथीहरुसंग पैसा उठाएर युवराज सरको खातामा जम्मा गरेका हौ,’ एउटा कक्षाका सिआर प्रकाश जोशीले भने ।
केहीदिनमा भनिएको सामाग्री आएको डिपाटमेन्ट प्रमुख चौधरी र प्रशिक्षक खत्रीले प्रशिक्षार्थीहरुलाई जानकारी दिए । त्यो सामाग्री लिन उनीहरुलाई भने । सामान हेर्दा पहिले भनेको गुणस्तरको नभएपछि प्रशिक्षार्थीहरु आक्रोशित भए । ‘सरहरुले पहिले जुन गुणस्तरको भन्नुभएको थियो, त्यो अनुसारको थिएन्,’ एक प्रशिक्षार्थीले डरैडरमा भने,‘त्यो नभएपछि हामीले गुनासो ग–यौ ।’ नाम नबताउने शर्तमा भनेका उनले यो कुरा भनेको थाहा पाए ‘सरहरुले प्राक्टीकल मार्क घटाईदिनसक्ने’ बताए । ‘तिमिहरुले दायाबाँया धेरैगरे प्राक्टीकल मार्क घटाईदिन्छौ । त्यो हाम्रा हातमा हुन्छ भनेर धम्क्याउनुहुन्छ,’ अर्का प्रशिक्षार्थीले थपे ।
त्यसपछि केही विद्यार्थीहरुले त्यो सामान लिएनन् । ‘केहीले मननपरेर र केहीको साईज नपुगेर लिएका छैनन्,’ कक्षाका सिआर जोशीले भने,‘मैलेपनि लिएको छैन ।’
धेरै गुनासो उठ्न थालेपछि प्रशिक्षक खत्रीले दुईहजार पाँचसय रकममध्ये एकहजार नौसय ५० मा सामान आएको र बाँकी पाँचसय ५० विद्यार्थीहरुलाई फिर्ता गरिने घोषणा गरे । उनले एकहजार एकसय ५० मा ट्रयाकसुट, छ सय ५०मा टि–सर्ट र एकसय ५० मा आईडीकार्ड आएको भनि बताएको प्रशिक्षार्थीहरु बताउछन् ।
फिर्ता गर्ने भनिएको रकम हालसम्म पनि उनले फिर्ता नगरेको प्रशिक्षार्थीहरु बताउछन् । ‘सामाग्री नलिएकालाई पुरै रकम र लिएकालाई पाँचसय ५० फिर्ता गर्छु भन्नुभएको हो,’ जोशीले भने,‘अहिलेसम्म फिर्ता गर्नुभएको छैन् । मलाई समस्या परेकाले खर्च गरे । भएपछि फिर्ता गर्छु भन्नुभएको छ ।’
यता प्रशिक्षार्थीहरुले आफुलाई सोध्नेगरेको जोशीले बताए । ‘मैले पैसा उठाएर दिएको हुँ । त्यसैले उनीहरु सोध्छन्,’ उनले भने,‘तर दीपक सर(दीपक चौधरी)लाई सबै थाहा छ, तरपनि उहाँले समेत एकदिन खै किन हो, कक्षामा आएर यसले पैसा खाएको भनेर वेईज्जत गर्नु भो, टर्चर गर्नु भो ।’
शिक्षालय व्यवस्थापनको निर्णयविनै ति सामाग्रीहरु खरिद गर्ने भनेर विद्यार्थीहरुबाट पैसा उठाईएको प्रशिक्षक खत्रीले स्वीकारे । ‘प्रशिक्षार्थीहरुकै मागका आधारमा त्यो खरिद गर्ने भनेका हौ,’ उनले भने,‘रह्यो पैसा फिर्ताको । त्यो हामीले गरिरहेका छौ । केहीको गरिसक्यौ, केही लगिरहेका छन् ।’
ईञ्जिनियरिङ डिपार्टमेन्ट प्रमुख चौधरीले भने आफु यो विषयबाट पन्छिने बहाना खोजे । ‘मलाई शुरुमा केही थाहा थिएन् । सामान आईसकेपछिको विवाद आउदा मलाई थाहा भएको हो,’ उनले भने,‘यसमा मेरो कुनै संलग्नता छैन् । मैले कुनै कमजोरी गरेको भए राजिनामा दिन तयार छु ।’ प्रशिक्षार्थीलाई कुनैकिसिमको धाकधम्की नदिएको उनले बताए ।
शिक्षालयका प्रमुख विरेन्द्रबाबु यादबले आफुलाई यसबिषयमा कुनै जानकारी नरहेको बताए । उनले भने, ‘म आउनुभन्दा पहिलेको कुरा रहेछ । त्यसैले मलाई केही थाहा छैन् ।’


