काठमाडौं, फागुन ३ (ई-रैवार)
नेपाली कांग्रेसले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजिएको भन्दै विरोध गरेको छ । कांग्रेसले सामाजिक सञ्जाल व्यवस्थापनको नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिन लागेको भन्दै युवालाई सजग बन्न अपिल समेत गरेको छ ।
कांग्रेसले समेबार बिहान प्रेस विज्ञप्ति जारी गरेर सरकार सामाजिक सञ्जाल व्यवस्थापनको नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न लागेको भन्दै युवालाई सजग बन्न अपिल गरेको हो ।
कांग्रेसले व्यापक विरोधका बाबजुद ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ को नाममा संसद्मा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताउन लागेको भन्दै आपत्ति प्रकट गरेको छ ।
सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने सरकारको काममा कसैको पनि विमति नहुने भन्दै कांग्रेसले सामाजिक सञ्जाल नियमनका लागि विद्यमान कानुनभित्रै आवश्यक प्रावधान रहेको पनि स्मरण गराएको छ ।
थप व्यवस्था आवश्यक रहेको ठहर गर्दै छलफल बिना संसद् विघटन भएको समयमा निर्देशिकामार्फत् जारी गर्नतर्फ लाग्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जिएको कांग्रेसको ठहर छ ।
कांग्रेसले कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरि कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न नपाइने पनि स्पष्ट पारेको छ । प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिँदै कांग्रेसले आज (सोमबार) को देशव्यापी प्रदर्शनमा यो मुद्दालाई थप उजागर गर्ने पनि बताएको छ ।
सामाजिक सञ्जालमा व्यक्त मतलाई सरकारी आवेगले कारबाहीको दायरामा बाँध्ने तयारी अधिनायकवाद तर्फको एक अर्को फड्कोको तयारी भएको कांग्रेसले दाबी गरेको छ ।
“यसविरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह गर्दै नेपाली कांग्रेस सञ्जाल प्रयोगकर्ता युवा पुस्तालाई विशेष जागरुकताका लागि आह्वान समेत गर्दछ,” प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


