सकियो सर्वदलीय बैठक : प्रदर्शन सरकारप्रतिको असन्तुष्टि हो, सरकार सच्चियोस् : कांग्रेस

सकियो सर्वदलीय बैठक : प्रदर्शन सरकारप्रतिको असन्तुष्टि हो, सरकार सच्चियोस् : कांग्रेस
Spread the love

काठमाडौं, मंसिर २३ (ई-रैवार)

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको हो ।

विश्वको सर्वोच्च शिखर सगरमाथको उचाई सार्वजनिक गर्नुपूर्व आज बोलाइएको सर्वदलिय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘कोभिड – १९’ को नियन्त्रणमा सबै एकजुट भएर अघि बढ्न आह्वान गरेका थिए ।  ‘कोभिड-१९’ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन उनले सबैसँग अपिल गरेका थिए ।

सङ्घीय संसद् मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको आजको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियो ।

नेपाली कांग्रेसले अहिले सडकमा देखिएको प्रदर्शन सरकारप्रतिको असन्तुष्टि भएको बताएको छ ।  प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले सरकार संविधानको मर्मअनुसार नचल्दा सडकमा असन्तुष्टि देखिएको बताएको हो ।  बैठकपछि कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकार सच्चिएमा सडकमा व्यक्त असन्तुष्टिलाई आफ्नो कोणबाट व्याख्या गर्ने प्रवृत्ति सफल हुन नसक्ने बताए ।

“सरकार सच्चियो भने लोकतान्त्रिक पद्धतीअनुरुप सरकार चल्यो भने कुनै पनि प्रवृत्ति सफल हुन सक्दैन,” उनले भने ।  बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता  रामचन्द्र पौडेल, उपसभापति विजय गच्छदार, विमलेन्द्र निधि र सहमहामन्त्री महत सहभागी थिए ।

बैठकमा उपस्थित भएका प्रमुख प्रतिपक्षी दलका सभापति देउवा केहिबेर बैठकमा बसेर लिखित धारणा राख्दै बैठकबाट बाहिरीएका थिए ।बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अन्तिमसम्मै सहभागिता थियो ।

बैठकमा नेताहरुको वरियतालाई दृष्टिगत गरी नामसहित मेच र टेबुल मिलाइएको थियो ।