विराटनगर मंसिर १९(ई–रैवार)
मंसिरको पहिलो साता भोजपुर हतुवागडी–४ कि शान्ति राईले बुबालाई उपचारका लागि विराटनगर ल्याईन् । परिक्षणका क्रममा उनका बुवामा कोरोना देखियो ।
चिकित्सकले भेन्टिलेटरमा राख्न सुझाए । उनले सुरुमा सरकारी अस्पतालमै प्रयास गरिन् । कतै खाली भेटिएन् । त्यसपछि नोबेल मेडिकल कलेजमा लगिन् । जहाँ अस्पतालले भर्ना गर्नुअघि नै तीनलाख रुपैयाँ धरौटी माग्यो । जसोतसो बुझाईन् । उनका अनुसार अहिले दैनिक ५० हजारबढी खर्च लागिरहेको छ ।
यसैक्रममा शुक्रबार अस्पताल निरीक्षणका मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे पुगे । उनीहरुले उपचारबारे सोधे । शान्ति भक्कानिइन् । ‘हामी साधारण नागरिकको पनि ज्यान हो । राम्रो होस् भनेर भेन्टिलेटर खोज्दा सरकारीमा रहेनछ,’ उनले भनिन्, ‘यहाँ कुरा गर्दा सहुलियत चाहिने हो भने सरकारी अस्पताल जानुस् भनियो । मेरो बाबा जीवन र मृत्युको !’
अस्पतालको सेवा राम्रो भएपनि उपचार खर्च धान्नै नसक्ने अवस्था रहेको उनले सुनाइन् ।
नोबेल मेडिकल कलेजमा उपचार गराइरहेको बिरामीका आफन्तले आइसोलेसनको व्यवस्थापन राम्रो नभएको गुनासो गरे । बुबालाई आइसोलेसनमा भर्ना गराएका इनरुवाका त्रिलोकचन्द्र गुुप्ताले अस्पतालले दिएको दुःख सुनाए ।
तप्लेजुङका कृष्ण मोक्तानले बिरामीको अवस्था कस्तो छ भनेर जानकारी पाउनै मुश्किल परेको बताए । बिरामीलाई भेट्न पनि प्रत्येक पटक २ हजार रुपैयाँको पीपीई सेट किन्नु पर्ने उनको गुनासो थियो । ‘औषधि किन्ने पैसा र पीपीई किन्नमै ठिक्क हुन्छ’ मोक्तानले भने । बिरामी कुरुवाले संक्रमितको खानपान र हेरचाह राम्रो नभएको भन्दै सुधारका लागि सहयोग गरिदिन पनि आग्रह गरे ।
मोरङको कटहरी गाउँपालिका–३ का निर्मल राजवंशी कात्तिक ३० देखि विराट मेडिकल कलेजमा आमाको उपचार गराइरहेका छन् । मुख्यमन्त्री पुग्दा उनले दैनिक २० हजारदेखि ४५ हजारसम्मको बिल तिर्नुपरेको दुखेसो गरे ।
मुख्यमन्त्रीसामू धर्धरी रोए बिरामीका आफन्तः उपचार खर्च धान्नै सकेनौं !


