भारतमा नेपालीलाई अलपत्र छोड्ने बर्दादेवी टूर्स एण्ड ट्राभल्सका ४ जना पक्राउ

भारतमा नेपालीलाई अलपत्र छोड्ने बर्दादेवी टूर्स एण्ड ट्राभल्सका ४ जना पक्राउ
Spread the love

धनगढी, मंसिर १६ (ई-रैवार) 

भारतको पलियामा नेपालीहरुलाई अलपत्र छोड्ने ४ जना पक्राउ परेका छन् । बर्दादेवी टूर्स एण्ड ट्राभल्स प्रालिका सञ्चालक सहित ४ जनालाई मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो ।

न्यू अछाम नेशनल गेष्ट हाउसमा सम्पर्क कार्यालय रहेको बर्दादेवी टुर्स एण्ड ट्राभल्स प्रा.लि.बाट टिकट दिएर भारत पठाएका नेपालीहरुलाई पलियामै अलपत्र छाडिएपछि सोमबार राती १ बजे १ सय ३० जना यात्रु धनगढी फर्केका थिए ।

रोजगारीका लागि भन्दै भारतका विभिन्न जान हिँडेका उनीहरुलाई धनगढीबाट बर्दादेवी टूर्स एण्ड ट्राभल्स एजेन्सीले लगेर भारतको पलिया सहर नजिकै शारदा व्यारेजमा अलपत्र छाडेको थियो ।  अलपत्र परेका नेपालीहरु धनगढी फर्किएपछि जिल्ला प्रहरी कार्यालय कैलालीमा आफूहरुलाई ठगी गरेर अलपत्र पारेको भन्दै ट्राभल्स एजेन्सी विरुद्ध उजुरी दिएका थिए । अलपत्र छाडेपछि नेपालीहरु सोमबार राती १ बजे सार्वजनिक बस रिर्जव गरेर पलियाबाट सीमा क्षेत्र गौरीफन्टा पुगेका थिए ।

गौरीफन्टाबाट उनीहरु रातीको १ बजे हिँडेर धनगढी बसपार्क स्थित बर्दादेवी टर्स एण्ड ट्राभल्सको टिकट काउन्टर न्यू अछाम नेशनल गेष्ट हाउसमा पुगेका थिए । गेष्ट हाउस अगाडी रातभर चिसोमा बसेका उनीहरु मंगलबार बिहान भने जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।  अलपत्र परेका नेपालीहरु दिएको उजुरीको आधारमा ट्राभल्स प्रा.लि.का सञ्चालक सहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक बिष्टले बताए ।

उनले सरकारी वकिलसँग सल्लाह गरेर कानुनी दायरामा ल्याउने बताए । उनले भने, ‘हामी यस विषयमा सरकारी वकिलसँग सल्लाह गर्दैछौँ, सोही अनुसार कानुनी कारबाही अगाडी बढाउँछौँ ।’ यसअघि पनि बर्दादेवी टूर्स एण्ड ट्राभल्स प्रा.लि.ले भारतको मुम्बई, बैंङ्गलोर, रत्नागिरी, पुना लगायतका सहरका लागि भनेर पठाएका यात्रुहरु पलिया र पुनामा अलपत्र परेका थिए ।

मंसीर ७ गतेका दिन सोही ट्राभल्सले धनगढीबाट बैंङ्लोरका लागि पठाईएका २३ जना यात्रुलाई भारतको पलिया स्थित भीरामा अलपत्र छाडेको थियो ।