डोटी, असोज १५ (ई-रैवार)
डोटीमा पछिल्लो समय सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । हालसम्म कोरोना सङ्क्रमित भएका कूल १ हजार ८५ जनामध्ये ९ सय ५२ जना निको भएर घर फर्किसकेका छन् । अब जिल्लामा १ सय ३३ जना मात्रै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
चौध दिन आइसोलेसनमा राखेर उपचार गरी पुनःपरीक्षण गर्दा कोरोना सङ्क्रमण नेगेटिभ देखिएका सङ्क्रमितलाई घर पठाउने गरिएको छ। सङ्क्रमण भएको दश दिनपछि कोरोना सङ्क्रमित भएका व्यक्तिले अरु व्यक्तिमा नसार्ने भएकाले यहाँका सङ्क्रमित व्यक्तिले समुदायमा कोरोना सार्न नसकेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा।प्रकाश ठकुल्लाले जानकारी दिए ।
सङ्क्रमित सङ्ख्या बढे पनि कोरोना निको भएर जाने बढेको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार बुधबारसम्म जिल्लाका नौ वटै स्थानीय तहबाट ३ सय १७ महिला र ६ सय ३५ पुरुष गरी कूल ९ सय ५२ जना सङ्क्रमण निको भएर घर फर्किएका छन्। नौ स्थानीय तहमध्ये सबैभन्दा बढी सङ्क्रमित शिखर नगरपालिकामा देखिएका छन् ।
उक्त नगरपालिकामा कूल ३ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये १ सय ८६ जना पुरुष र १ सय १० महिला गरी कूल २ सय ९६ जना निको भएका छन् । १ महिला र ९ पुरुष गरी १० जनामा अझै सक्रिय सङ्क्रमण देखिएको नगरपालिका स्वास्थ्य संयोजक हरिष शाहले बताए।
रासस


