काठमाडौं, असोज १३ (ई-रैवार)
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले रामचन्द्र पौडेलले पार्टी सिध्याउन सभापति शेरबहादुर देउवाविरुद्ध विरोध पत्र दर्ता गरेको आरोप लगाएकी छन् । कम्युनिस्ट सरकारसँग जुध्नुपर्ने समयमा नेता पौडेलले पार्टी सिध्याउन सभापति देउवाविरुद्ध विरोध पत्र दर्ता गरेको आरोप लगाएकी हुन् ।
‘प्राइम’ टेलिभिजनबाट प्रशारण हुँदै आएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा उनले पार्टीभित्र विग्रह ल्याउने गरी दर्ता गरिएको विरोध पत्रमा आफ्नो गम्भीर असहमति रहेको बताएकी छन् ।
“विरोधपत्र म कहाँ पनि आएको हो । मैले सही गरे त्यसमा । तर, मैले धेरै गाह्रो मानेर सही गर्नुपरेको हो । तपाईं साच्ची सोध्नुहुन्छ भने त्यसरी पार्टी चल्दैन,” कोइरालाले भनेकी छन्, “अहिले हामी एकजुट भएर जानुपर्ने हो । अब यो विरोध पत्र, आपसमै लडाइ ग¥यौं भने नेपाली कांग्रेसको कुनै अस्तित्व नै रहँदैन ।”
वरिष्ठ नेता पौडेलकै नेतृत्वमा हस्ताक्षर संकलन अभियान चलेको भन्दै उनले समूहको नाताले मात्रै आफूले हस्ताक्षर गर्नुपरेको पनि बताइन् । “राचन्द्रजीकै नेतृत्वमा यो हस्ताक्षर भएको हो । टिमको नाताले मलाई गरुँ कि नगरुँ भन्ने एकदम दुविधा थियो । टिमको नाताले गर्न त गरेँ । तर, मलाई राम्रो चैं लागेन,” अन्तर्वार्तामा नेतृ कोइरालाले भनेकी छन् ।
उनले पार्टी अहिलेको अवस्थामा आउनुमा सभापति देउवा एक्लैलाई दोष दिन नमिल्ने पनि स्पष्ट पारिन् । कोइरालाले भनिन्, “शेरबहादुरजी पनि पार्टी मिलाउन सक्नुभएन । रामचन्द्रजी ले पनि मिलाउन सक्नुभएन । सबै दोष देउवालाई मात्रै दिएर हुँदैन । यता हाम्रोबाट पनि त दोष छ नि । हामीहरु पनि मिलेर जान सकेका छैनौं । हामीले मिलाउन सकेका छैनौं ।”
एकापसमा लडाइँ गरेर, ‘सिग्नेचर क्याम्पेनिङ’ (हस्ताक्षर अभियान) गर्नुभन्दा अहिले कांग्रेसभित्र आगामी निर्वाचन जित्ने तयारीको आवश्यकता औंल्याइन् । “एकअर्कामा लडाइँ झगडा, सिग्नेचर क्याम्पेनिङ गर्नुभन्दा पनि अहिले हामीले अब आउने चुनाउमा हामीले कसरी जाने, कसरी त्यो चुनाउ जित्ने भनेर तयारी गर्नुपर्छ,” कोइरालाले भनिन् ।
उनले कांग्रेसभित्र आपसमै लडाइँ गरे पार्टीको अस्तित्वनै समाप्त हुने भन्दै गुटका नाममा नेता पौडेलले गरिरहेका क्रियाकलाप आफूलाई मान्य नभएको पनि बताइन् । “शेरबहादुरजीले त आफ्ना सबै साथीहरुलाई एकजुट बनाएर राख्नुभएको छ । तर, हामीहरुको तिर त गुटैगुटमात्र छन् । त्यसभित्र पनि कस्ले कस्लाई सिध्याउने भन्ने छ । त्यसैले म त बैठकहरुमा जान पनि छोडिसकेको छु,” उनले अन्तर्वार्तामा भनेकी छन् ।
कोइरालाले सभापति देउवाले गठन गरेका विभाग बहिष्कार गर्नु पनि पौडेल समूहको गम्भीर गल्ती भएको दाबी गरिन् । “पार्टीको विभाग ढिला गठन भए पनि त्यसले पार्टीका साथीहरुको मनोवल वढाएको छ र संगठनमा लाग्न सजिलो भएकोछ,” कोइरालाले भनिन्, “ढिलो बन्यो भनेर विभाग गठनप्रतिनै असहमति जनाउनु उपयुक्त होइन ।”
वरिष्ठ नेता पौडेलले पटक–पटक अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसकेकोे नेतृ कोइरालाको आरोप थियो । “रामचन्द्रजीले केही पाइन भन्ने हो भने मैले किन नभन्ने ? उहाँलाई पटक–पटक अवसर दिएको हो । पटक–पटक पदाधिकारी हुनुभयो,” उनले भनिन्, “गत महाधिवेशनमा सभापति लड्नुभयो । प्रधानमन्त्रीका लागि १६ पटकसम्म लड्दा पनि जित्नुभएन । फेरी हार्नुभयो । पार्टीले त उहाँलाई धेरै दियो ।”
नेतृ कोइरालाले नेता पौडेलमाथि सभापति पदमा चुनाव लड्नका लागि ‘जे पनि’ गरिरहेको आरोपसमेत लगाएकी छन् । “रामचन्द्रजीको क्रियाकलापहरुबाट म ह्याप्पी छैन । एकदम गुटमा हुनुहुन्छ, उहाँ पनि । आफू चुनाव लड्नको लागि जे पनि गरिराख्नुभएको छ । गुट बनाइराख्नुभएको छ जिल्ला जिल्लामा । त्यो भित्र पनि उहाँलाई विश्वास छैन सबैमाथि । दुईतीन जना लिएर हिँड्नुहुन्छ ।”


