प्रतिव्यक्ति सार्वजनिक ऋण ९६ हजार रुपैयाँ

प्रतिव्यक्ति सार्वजनिक ऋण ९६ हजार रुपैयाँ
Spread the love

काठमाडौं माघ। नेपालको सार्वजनिक ऋण २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रतिवेदनअनुसार १४ खर्ब ८७ अर्ब २६ करोड २२ लाख अर्थात् ५३ प्रतिशत बाह्य ऋण र १३ खर्ब १९ अर्ब १३ करोड १० लाख अर्थात् ४७ प्रतिशत आन्तरिक ऋण हो ।

साउनदेखि पुससम्मको ६ महिनामा १ खर्ब ३२ अर्ब रुपैयाँ ऋण थपिएको छ । यसअघि असार मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ रहेको थियो । ६ महिनाको अवधिमा कुल ऋण ४ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ ।

सरकारले पुस महिनामा मात्रै ३६ अर्ब ४३ करोड रुपैयाँ ऋण उठाएको छ । यसमध्ये ३० अर्ब आन्तरिक ऋण र ६ अर्ब ४३ करोड ५ लाख रुपैयाँ बाह्य ऋण प्राप्त भएको हो ।

यस्तै ६ महिनाको अवधिमा सरकारले २० अर्ब ११ अर्ब १५ करोड रुपैयाँ ऋणको साँवा र ब्याज भुक्तानी गरेको छ । सरकारले आन्तरिक ऋणतर्फ १७ अर्ब ४५ करोड ५४ लाख र बाह्य ऋणतर्फ २६ करोड ५६ लाख रुपैयाँ ऋणको सावाँ ब्याज तिरेको हो ।

यस्तै नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४५ दशमलव ९५ प्रतिशत पुगेको छ । नेपालको पछिल्लो जनसङ्ख्यालाई आधार मान्दा प्रतिव्यक्ति सार्वजनिक ऋण ९६ हजार रुपैयाँ रहेको देखिन्छ ।