प्रधानमन्त्रीको पदमा भएको मान्छेले निजी विचारलाई वा राज्यको औपचारिक धारणा नवनी सकेको विषयमा अभिव्यक्ति दिनु गल्त हुन जान्छ, जुन गल्ती प्रधानमन्त्री ओलीले गरेका छन ।
-मनोज भट्ट
प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्दछ । राम नेपालमा जन्मेका हुन भन्ने अभिब्यक्ति दिएका छन । यो भनाईले निक्कै विवादको रुप लिएको छ । यो अभिब्यक्तिको सर्वत्र आलोचना भईरहेको छ । यो बताईरहनु पर्ने आवश्यकता छैन कि, अयोध्या नेपालमा पर्दछ र राम नेपालमा जन्मेका हुन भनेर कहिंकतै अहिलेसम्म नेपाल पक्षले राज्यको धारणा बाहिर ल्याएको छैन । यहांसम्म कि राज्य स्तरमा त्यसबारे कुनै अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता बोध भएको समेत देखिदैन । त्यस्तो अवस्थामा स्वभाविक रुपले देशको प्रमुख कार्यकारीको अभिव्यक्तिले देशलाई अनावश्यक विवादमा पार्ने काम गर्दछ । जुन भएको पनि छ । कार्यकारी प्रमुखले बोल्दा नेपाल राज्यको आधिकारीक धारणा व्यक्त गर्नु पर्दछ । कुनै विषयमा राज्यका प्रचलित मान्यता बदलिन पनि सक्दछन तर त्यसको लागि राज्यस्तरबाट बृहत अध्ययन अनुसन्धान हुनु पर्दछ र त्यो अध्ययन अनुसन्धानले पहिलेको मान्यतालाई निषेध गर्न सक्ने वा बदल्न सक्ने हैसियत राख्न सक्नु पर्दछ । अन्यथा देशको कार्यकारी प्रमुखले हल्का किसीमले अभिब्यक्ति दिने कुराले ंिसंगो मुलुकको प्रतिष्ठालाई आंच पुग्न सक्दछ ।
भारतका कैयौं अनुसन्धानकर्मीहरुले रावणको राज्य लंका भारतको विभिन्न प्रदेशमा रहेको दाबी गरेका छन । कतिपयले रावणको लंका आन्ध प्रदेशको गोदावरी नदीको मुहानमा अवस्थित रहेको बताएका छन । कतिपयले मध्यप्रदेशको अमर कंटकको नजिक बताएका छन । कतिपयले भारतको जबलपुरमा पौराणीक रावणको राज्य लंका रहेको बताएका छन । अझ केहिले त लंका मालदिभ्समा त केहिले सिंगापूर समेत बताएका छन । त्यसका विभिन्न आधारहरु पनि दिएका छन । अनुसन्धानमा सहभागी कतिपय भारत सरकारका विभिन्न पदाधिकारी पनि थिए । तर भारत सरकारले यी सबै अनुसन्धानहरुलाई स्वीकृत गरेको छैन । अर्थात अहिलेसम्म प्राप्त प्रमाणका आधारमा पौराणिक कालको रावणको राज्य श्रीलंका नै हो भन्ने भारत सरकारको धारणा रहेको पाईन्छ ।
स्वयम श्रीलंकाले पनि पौराणिक कालका रावणको राज्य श्रीलंका थियो भनेर बिना अनुसन्धान स्वीकार गरेको होईन । सबैलाई थाहा भएको कुरा हो सन १९६८ सम्म श्रीलंकाको नाम सिलोन थियो । रामायणका बारेमा सम्भवतःसिलोन बाहेक संसारको कुनै पनि मुलुकले यति धेरै अध्ययन अनुसन्धान गरेको छैन होला । सिलोनले शुरुमा अन्तरराष्र्टि«य स्तरको रामायण अनुसन्धान केन्द्रको गठन ग–यो ।रामायणमा उल्लेखित कुराहरुको ब्यापक पैमाना अनुसन्धान भयो । रामायणमा उल्लेखित स्थानहरुलाई सिलोनको भूगोल सहित विभिन्न पौराणिक स्थानहरुका खोज अध्ययन पश्चात अन्ततःपौराणिक कालको रावणको राज्य सिलोनमा भएको निष्कर्षमा सिलोन पुग्यो । जसको परिणाम उसले आफनो मुलुकको नाम नै परिवर्तन गरेर सन १९७२ मा लंका बनायो । त्यसको चार वर्ष पछि श्री थपेर श्रीलंका नामाकरण ग–यो ।
गौतम बुद्धको जन्म भएको स्थान कपिलवस्तु जिल्लाका तिलौराकोट नभएर भारतमा पर्ने तिलौराकोट हो भनेर भारतले प्रचार ग–यो । त्यही प्रचारको परिणाम श्रीलंकाले भारतले बनाएको नक्कली तिलौराकोटको माटो लगेर सात दिनसम्म रथयात्रा समेत गरेको थियो । तर कपिलवस्तुको तिलौराकोट नै वास्तवीक गौतमबुद्धको जन्मस्थलहो भन्ने कुरा तथ्यले पुष्टी गर्नुका साथै युनेस्कोले तिलौराकोटलाई विश्व सम्पदा सुचिमा समेत प्रस्तावित गरेको छ ।
यसरी हेर्ने हो भन्ने ऐतिहासीक, पौराणीक स्थानहरुका विषयमा निरन्तर खोज अनुसन्धान भईरहन्छ । अनुसन्धान गर्नु पनि पर्दछ । यद्यपी अध्ययन अनुसन्धानको संस्कृती नेपालमा निक्कै कमजोर छ । ईतिहासका बारेमा जे जति अध्ययन अनुसन्धान भएको छ त्यो पनि विदेशीहरुबाट मात्र भएको छ । नेपालले अध्ययन अनुसन्धानको दायरालाई फराकिलो बनाउन सकेमा कैयौं नयाँनयाँ कुरा उजागर गर्न सहयोग पुग्दथ्यो । त्यसैले अनुसन्धानकर्ताहरुले विभिन्न विषयमा अध्ययन अनुसन्धान गर्न सक्दछन । त्यसबारे आफ्नो धारणा सार्वजनीक गर्न पनि सक्दछन । जस्तै रावणको राज्य लंका कहां पर्दछ ? भारतका विभिन्न राज्य, वा सिंगापुर वा माल्दिभ्समा पर्दछ भनेर वेग्लावेग्लै मत प्रकट गरेका छन । जस्तै नेपालको राजा कसको सन्तान हो भनेर वेग्लावेग्लै मत भएको पाईन्छ । कसैले मगरको सन्तान भनेका छन भने कतिपले भारतीय राजा महाराणा प्रतापको सन्तान भनेर भनेका छन ।
तर प्रधानमंत्रीको पदमा भएको मान्छेले निजी विचारलाई वा राज्यको औपचारिक धारणा नबनी सकेको विषयमा अभिब्यक्ति दिनु गल्त हुन जान्छ जुन गल्ती प्रधाननमन्त्री ओलीले गरेका छन ।
(लेखक भट्ट राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम ईन्चार्ज हुन् ।)


