काठमाडौं, असार २३ (ई-रैवार)
सांसद सरिता गिरीलाई कारबाही गर्न जनता समाजवादी पार्टीद्वारा गठित कार्यदलको कार्यदलको सिफारिस गरेको छ ।
जनता समाजवादी पार्टीका नेता तथा सांसद रामसहायप्रसाद यादवको नेतृत्वमा गठन भएको कार्यदलले नेपालको नयाँ नक्सा जारी गर्दा विवादित अभिव्यक्ति दिएकी सांसद सरिता गिरीलाई कारबाहीको सिफारिस गरेको हो ।
यादवले मंगलबार बसेको पदाधिकारी बैठकमा सांसद गिरीलाई कारबाही गर्न सिफारिस गरेको हो । कारबाहीमा परेपछि नेतृ गिरीको सांसद पद गुम्ने भएको छ छ । उनी समानुपातिकतर्फकी सांसद हुन ।
‘राष्ट्रिय अखण्डताविरुद्ध बोलेको तथा पार्टीको औपचारिक निर्णयविरुद्ध गएकाले कारबाही गर्नुपर्ने निष्कर्षमा हामी पुगेका हौ,’ कार्यदलका एक सदस्यले भने ।
कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरेपछि सांसद गिरीले संसदमा फरक मत दर्ता गराएकी थिइन ।
गत असार १ गते नै जनता समाजवादी पार्टीले संविधान संशोधनको विपक्षमा प्रस्ताव दर्ता गराएर विवादमा आएकी नेतृ सरिता गिरीलाई बर्खास्त गर्ने जानकारी गराइसकेको थियो ।
प्रतिनिधिसभामा समानुपातिक सिटबाट सांसद बनेकी गिरीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने तयारी समाजवादी पार्टीले गरेको थियो ।
प्रतिनिधिसभामा गिरीले पेश गरेको प्रस्ताव राष्ट्र र राष्ट्रिय हित विपरीत रहेको र त्यसैले पार्टी र सांसद पद समेतबाट उनलाई हटाउनुपर्ने निष्कर्ष कार्यदलले निकालेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र महतो तथा नेता बाबुराम भट्टराईले यस विषयमा छलफल गरिसकेका छन ।
त्यो भूमि नेपालको होइन भन्ने गिरीको अभिव्यक्ति र नयाँ नक्सालाई निशान छापमा समावेश गर्न ल्याइएको संविधान संशोधनको प्रस्तावविरुद्ध संसदमा छुट्टै सूचना दर्ता गराएपछि उनलाई कारबाही गर्नुपर्ने निष्कर्षमा पार्टी नेतृत्व पुगेको थियो । यसअघि, उक्त प्रस्ताव फिर्ता गर्न समाजवादी पार्टी संसदीय दलले गिरीलाई सचेत गराए पनि पार्टी नेतृत्वलाई चुनौती दिँदै उनले प्रस्ताव फिर्ता दिइनन ।
तर, राष्ट्रहित विपरीतको उक्त प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा २०७५ को नियम ११२ मा उल्लेखित शर्त पूरा नभएकाले संशोधन सूचनालाई अस्वीकृत गरिदिएका थिए ।


