‘ब्रेन ट्यूमर’का बिरामीको उपचार गर्न आर्थिक सहयोग

‘ब्रेन ट्यूमर’का बिरामीको उपचार गर्न आर्थिक सहयोग
Spread the love

जीवन बोहरा

जोरायल असार १३(ई-रैवार): सुदुरपश्चिम समाज दक्षिण कोरियाका अभियान्ताहरूले ब्रेन ट्यूमरका बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । जोरायल गाउँपालिका-४ खैगाड निवासी ४५ बर्षीय लक्षी पाली लामो समयदेखि ब्रेन ट्यूमरका बिरामी थिए । उनको आर्थिक अभावले उपचार हुनसकेको थिएन ।  सो कुरा सार्वजनिक गर्दै सहयोगको आग्रह गरेपछि दक्षिण कोरियास्थित अभियान्ताहरूले एकापसमा रकम संकलन गरि एकलाख ४४ हजार आठ रूपैयाँ पठाएका छन् । सो रकम उनको घरमा गएर श्रीमतीलाई हस्तान्तरण गरिएको छ ।

सुदूरपश्चिम समाज दक्षिण कोरियाका सामाजिक अभियन्ताहरु पूर्व कार्यसमिति सदस्य पुष्प ओझा, वर्तमान सचिव योगेश बोहरा, कैलाली संयोजक पुस्कर जोशी, वरिष्ठ उपाध्यक्ष दिल बहादुर मडै लगायतले ‘लक्षी बचाऔं अभियान’ सञ्चालन गरी रकम जुटाएका थिए ।

दैनिक ज्याला मजदुरी गरी जीविका चलाईरहेका पाली  जेठ ६ गते एक्कासी बेहोस भएपछि काठमाडौंको वीर अस्पताल पु-याएर उपचार गरिएको थियो । शल्यक्रियापछि एघारौँ दिनमा होस खुलेको उनका ज्वाँई तिलक रावलले बताए। बिरामीको अवस्था जटिल भएपनि आर्थिक अभावले उनलाई घरमा ल्याएर राखिएको छ ।

यसैगरी उक्त अभियानमा ऐक्यवद्वता जनाउँदै मलेसियामा रहेका सामाजिक अभियन्ताहरु खडक खड्का, नरेन्द्र मडै, गोकर्ण मडै , अम्मर पाली, भोज मडै , लोकेन्द्र पाली, दिलिप कार्की , राजन बिष्ट र ठगी सिह बोहरा लगायतले संयुक्त रुपमा आर्थिक संकलन गरेर दुईलाख तीन हजार सात सय ८५ र जापानबाट सुरेन्द्र मालीले १० हजार पाँचसय सात रकम यसअघि नै पठाईसकिएको बताईएको छ ।

बिरामीको आर्थिक अवस्था अत्यन्त नाजुक भएकोले यो अभियान चलाईएको सुदुरपश्चिम समाज दक्षिण कोरियाका अध्यक्ष वीर बहादुर पालले बताए। उनले अभियानमा सहयोग गर्नु सबैलाई धन्यबाद दिए ।