प्रधानमन्त्री ओलीको बिकल्प खोज्ने निर्णय

प्रधानमन्त्री ओलीको बिकल्प खोज्ने निर्णय
Spread the love

काठमाण्डौं वैशाख १४(ई-रैवार)

सत्तारुढ नेकपाका असंतुष्ट नेताहरुले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी र सरकार दुवै सञ्चालन गर्न नसकेको निष्कर्ष निकाल्दै स्थायी कमिटी बैठकमा ओलीको विकल्प खोज्ने निर्णय गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधकुमार नेपालसहित एक दर्जनभन्दा बढी स्थायी कमिटी सदस्यहरु सम्मिलित नेताहरुको नेपाल निवासमा भएको भेलाले यस्तो निर्णय लिएका हुन् ।

बैठकले आगामी स्थायी समितिको बैठक अगावै ओलीलाई सरकार र पार्टी संचालनमा असफल भएको भन्दै विकल्पका लागि बाटो खुला गरिदिन आग्रह गर्ने निर्णय भएको एक नेताले बताए । ओलीले आग्रह अस्वीकार गरेमा आउँदो स्थायी कमिटी बैठकले तत्कालै उनको विकल्पको टुंगो लगाउने समेत निर्णय गरेको छ । ओलीको कार्यशैलीविरुद्ध दुई तिहाई स्थायी कमिटी सदस्यहरु उभिसकेको दाबी गर्ने भेलामा सहभागीहरुले गरेका छन् । तर भेलाले सिधै ओलीले दुवै पदबाट या एउटा पदबाट राजीनामा दिनुपर्ने स्पष्ट पारेको छैन ।

यसैबीच उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई बाइपास गरेर समस्या समाधान नहुने सुझाव प्रधानमन्त्री केपी ओलीलाई दिएको स्पष्ट पारेका छन् । आज एक विज्ञप्ती प्रकाशित गर्दै उनले सरकारले ल्याएको अध्यादेश जारी र खारेज प्रकरणलाई लिएर पार्टीभित्र र समस्या उत्पन्न भएकाले प्रधानमन्त्री ओलीलाई त्यसको निकास खोज्न सुझाब दिएको जानकारी गराएका हुन । सरकारको कामवाट पार्टीभित्र र सरकार संचालनमा उत्पन्न भएको नेता गौतमको भनाइ छ । उनले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आवश्यक परेमा सचिवालय, स्थायी कमिटी वा केन्द्रीय कमिटी बैठकसमेत बोलाउनुपर्ने सुझावपनि आफुले दिएको बताएका छन ।

सबैका सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ । उनले विज्ञप्तीमा आफू र प्रधानमन्त्रीबीच भएका कुराबारे मनमौजी किसिमले टिप्पणी भएको भन्दै असन्तुष्टि समेत जनाएका छन् । यसअघि उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएको समाचार बाहिर आएको थियो । प्रधानमन्त्री ओलीले एकलौटी रुपमा राजनीतिक दल र संबैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारुढ नेकपाका विवाद देखिएको छ ।