असोज १९ देखि तिलोत्तमा क्रिकेट लिग

असोज १९ देखि तिलोत्तमा क्रिकेट लिग
Spread the love

भैरहवा, असोज । तिलोत्तमा क्रिकेट लिग–२०८२ यही असोज १९ गतेदेखि सुरु हुने भएको छ । तिलोत्तमा क्रिकेट विकास समिति तिलोत्तमा–५, रुपन्देहीको आयोजनामा तिलोत्तमा–१७ स्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदान उक्त प्रतियोगितामा हुनेछ ।सोमबार भलवारीमा आयोजित अक्सन कार्यक्रममा आयोजकले प्रतियोगितामा पाँचवटा विद्यालय र एउटा क्रिकेट एकेडेमी गरी ६ वटा टीमको सहभागीता हुने जानकारी गराएका छन् । सहभागी टीममा खेलासिकी एकाडेमी, नेपथ्य कलेज, बुटवल डाईनामाईट, विश्व लायन टटल्स, पी टु के डी र द रिभीभेलियन्स रहेका छन् ।१९ वर्षमुनीका कक्षा १२ सम्म अध्ययनरत खेलाडीहरु माध्यमिकस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने तिलोत्तमा क्रिकेट विकास समितिका उपाध्यक्ष कुष्ण भुसालले बताउनुभयो अक्सन कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले तिलोत्तमा क्रिकेट लिग महत्वपूर्ण कार्यक्रम र यसले क्रिकेट र खेलाडीको महत्व अझ बढ्ने बताउनुभयो । उहाँले तीनै तहका सरकारले यस्तो कार्यक्रममा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । ‘तिलोत्तमा नगरपालिका तपाईहरुको साथमा छ, तिलोत्तमा क्रिकेट र फुटबलको उर्वरभूमि हो, ’उहाँले भन्नुभयो । तिलोत्तमा नगरपालिका खेलाडीलाई अगाडि बढाउने र सम्मान गर्ने पक्षमा रहेको नगरप्रमुख खाणले बताउनुभयो । खेलकुदको माध्यमबाट देशलाई विश्वमै चिनाउन सकिने उहाँको भनाइ छ । तिलोत्तमा क्रिकेट विकास समितिलाई अझ मजबुत बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । खेलकुदको विकासले आर्थिक विकासमा पनि टेवा पुग्ने उहाँले बताउनुभयो । त्यस्तै रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले रुपन्देहीबाट क्रिकेटको इतिहास सुरु भएको बताउनुभयो । उहाँले राम्रो खेलाडी उत्पादन गर्ने उत्कृष्ट जिल्लाको रुपमा रुपन्देहीले पहिचान बनाएको बताउनुभयो । ‘विभिन्न क्षेत्रबाट क्रिकेटमा भएको योगदानलाई बिर्सन सकिन्न, ’उहाँले भन्नुभयो । अध्यक्ष थापाले तिलोत्तमा क्रिकेट विकास समितिले विगतमा पनि राम्राराम्रा कार्यक्रम गर्दै आएको बताउनुभयो । यसमा तिलोत्तमा नगरपालिकाको साथ र सहयोग रहदै आएको उहाँले बताउनुभयो । रुपन्देही क्रिकेट संघले आवश्यक सहयोग गर्ने उहाँको भनाइ छ ।