अत्याधुनिक भवनमा प्रहरी कार्यालय

अत्याधुनिक भवनमा प्रहरी कार्यालय
Spread the love

दिपायल चैत्र ३१(ई-रैवार)
झट्ट हेर्दा सहजै देखिने गुणस्तरले भरिपूर्ण निर्माण सामाग्रीको आकर्षक संयोजन ! चिटिक्क आँगन, आवरण र छाना ! आकर्षक र बलियो भवन ।
यो कुनै विदेशको अत्याधुनिक सहरमा बनेको भवनको दृश्य होईन् । ईलाका प्रहरी कार्यालय दिपायलको भर्खरै निर्माण सम्पन्न भवन र परिसरको आवृत्ति हो ।
भवन बनेको छ, यस्तै । बाहिरबाट आकर्षक र गुणस्तरीय देखिने भवनको भित्रि दृश्य पनि उच्चस्तरको छ । भुँईमा मार्वल र टायल छरिएका छन् । आकर्षक कार्यकक्ष, महिला र पुरुष कर्मचारीहरुका लागि छुट्टाछुट्टै व्यारेक, थुनुवाकक्ष, अन्तर्वार्ता तथा अनुसन्धान कक्ष सबैको निर्माण संयोजन अब्बल छ ।
यही भवनको सोमबार नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले उद्घाटन गरे । उद्घाटनका अवसरमा गरिएको समारोहमा सम्बोधन गर्दै उनले आधुनिक भवनबाट सेवा प्रदान गर्दा प्रहरी सेवापनि उत्कृष्ट हुनुपर्ने बताए । ‘भवन निकै उत्कृष्ट बनेको छ । अब यस्तो भवनमा बसेर, कार्यालय सञ्चालन गरेर काम गर्दा प्रहरी सेवा पनि उत्कृष्ट हुनुपर्छ,’ उनले भने ।


बेलायत सरकारको सहयोगी नियोग ‘डिएफआईडी’को आर्थिक सहयोग तथा ‘युएनओपिएस’को ‘डिजाईन’, ‘सुपरभिजन’ तथा प्राविधिक सहयोगमा यो भवन निर्माण भएको हो । भवनको कुल निर्माण लागत तीनकरोड २२ लाख ११ हजार पाँचसय ४८ रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
भवनको निर्माण कार्य उच्चाकोटी निर्माण सेवाले गरेको छ । २०७५ मंसिरबाट शुरु भएको भवनको निर्माण कार्य २०७७ असोजमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
भवन नेपाल प्रहरी र प्रहरीको सेवा लिन आउने सबैखाले नागरिकहरुका लागि उपयोगी प्रकारको रहेको ‘युएनओपिएस’का ईञ्जिनियर अनुज पाण्डेले बताए । ‘यो भवन महिला, अपाङ्ग, जेष्ठनागरिक सबैका लागि उपयूक्त छ,’ उनले भने,‘यसको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको छ । यसमा प्रयोग भएका सबै सामाग्री नेपाल गुणस्तर चिन्ह प्राप्त छन् ।’
आधुनिक प्रहरी कार्यालय भवनको निर्माण प्रहरीको आन्तरिक जीवनमा मात्र नभई सबै नागरिकका लागि सुखद पक्ष रहेको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले बताए ।
डीएफआईडी र युएनओपिएसको सहयोगमा ईलाका प्रहरी कार्यालय दिपायल र वायल प्रहरी चौकीलाई एकै पटक निर्माण भएका छन् । दुबै भवनाके मापदण्ड र गुणस्तर अत्याधुनिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
डीएफआईडी र युएनओपिएसको सहयोगमा देशभरमा नेपाल प्रहरीका ५८ वटा भवनहरु निर्माण भईसकेको युएनओपिएसका ईञ्जिनियर पाण्डेले बताए । ‘नेपाल प्रहरीलाई भौतिक सुविधायूक्त बनाउन सहयोग गरिरहेका यि दुई संस्थाले प्रहरीको क्षमता विकासमा समेत काम गर्दै आएका छन्,’ उनले भने ।