बझाङ माघ १५(ई-रैवार)
बझाङमा हत्याको आरोप लागेर पक्राउ परेका वडाध्यक्षसहित चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय बझाङले बिहीबार पत्रकार सम्मेलन गर्दै हत्या आरोपीहरुलाई सावजनिक गरेको हो । सार्वजनिक गरिएकाहरुमा छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी, केदार ऐडी र ज्ञानबहादुर कडायत रहेका छन् ।
उनीहरुलाई मंगलबार छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो।
छबिसपाथिभेरा गाउँपालिका–३ को बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सिंहको हत्या भएको थियो। खुँडा प्रहार गरेर सिंहको हत्या गरिएको प्रहरीले जनाएको छ।
सिंहको हत्यामा वडाध्यक्षको सरकारी मोटरसाइकल समेत प्रयोग गरेको भेटिएपछि अनुसन्धानका लागि उनलाई समेत पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खडकाले बताए।
कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अदालतबाट म्याद थप गरि उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए।
हत्या गरिएका युवक सिंह तरुण दलका छबिसपाथिभेरा गाउँपालिकाका स्थानीय नेता हुन्।
बझाङ हत्याका आरोपी वडाध्यक्षसहित चारजना सार्वजनिक


