बलात्कारको घटना गाउँमै मिलाउने छजना पक्राउ

बलात्कारको घटना गाउँमै मिलाउने छजना पक्राउ
Spread the love

बझाङ असोज २०(ई-रैवार)
बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका राजेन्द्र बोहराको अघिल्लो बलात्कारको घटना गाउँमै मिलाउने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या अभियोगमा बोहरा यसअघि नै पक्राउ परिसकेका छन् ।
उनको अघिल्लो घटना मिलापत्र गर्ने मष्टा गाँउपालिकाका ६ जनालाई सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा २४ वर्षीय झलक दमाई, ४५ वर्षीय लालबहादुर बोहरा, ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरू दमाई र ५५ वर्षीय गल्फे बोहरा छन् ।
उनीहरूले गत साउन २९ गते १४ वर्षीया बालिकामाथि बलात्कार भएको घटनालाई मिलापत्र गराएका थिए । घटना बाहिर आउन नदिन उनीहरूले पीडित र राजेन्द्र बोहरा पक्षबीच साउन ३१ गते मिलापत्र गराएका थिए ।


मिलापत्रमा दुई पक्षका तीन जनाले हस्ताक्षर गरेका थिए भने राजेन्द्रले बालिकाको खुट्टामा पाँच सय रुपैयाँ राखेर ढोगेको समेत खुलेको थियो ।
त्यसरी मिलापत्र गराएको एक महिनापछि बोहराले असोज ७ गते बुधबार सोही ठाँउकी १२ वर्षीया सम्झना बिकको बलात्कार पछि हत्या गरेका थिए ।
अहिले उनी प्रहरी हिरासतमा छन्। सम्झना बिकमाथि बलात्कारपछि हत्या गरेको घटनामा पक्राउ परेका बोहरामाथि अनुसन्धान गर्दा साउन २९ गतेको घटना बाहिरिएको हो ।
मिलापत्र गर्नेहरूमाथि पनि अहिले अनुसन्धान भइरहेको बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए ।
पक्राउ परेका सबैलाई सोमबार अदालतबाट सात दिन थुनामा राख्ने आदेश लिएर जबरजस्ती करणीको प्रमाण लोप गराएको कसुरमा अनुसन्धान थालिएको खड्काले बताए ।