कोलम्बो (एएफपी)– एकदिवसीय क्रिकेट विश्वकप फाइनल खेल खेलाएका अम्पायरले इङ्ल्यान्डलाई अतिरिक्त ५ रन दिनुपर्ने अवस्थामा ६ रन दिनु गल्ती भएको स्वीकार गरेका छन्।
इङ्ल्यान्डलाई निर्धारित ५० ओभरको खेलमा जितका लागि अन्तिम ओभरमा १५ रन आवश्यक थियो। ट्रेन्ट बोल्टको पहिलो र दोस्रो बलमा म्यान अफ दी म्याच बेन स्टोक्सले कुनै रन जोड्न सकेनन्। तेस्रो बलमा स्टोक्सले छक्का प्रहार गर्दा इङ्ल्यान्ड जितबाट ९ रनले टाढा थियो। चौथो बलमा स्टोक्सले २ रन लिए। यही बललाई मार्टिन गुप्टिलले रन आउट गर्न स्टम्पतर्फ फाल्दा बलले कुदिरहेका स्टोक्सको ब्याटमा लाग्दै बाउन्ड्री पार गरेपछि इङ्ल्यान्डको खातामा थप ४ रन जोडिएको थियो, जसमा अम्पायर कुमारा धर्मसेनाले एक रन बढी दिनु गल्ती भएको स्वीकार गरेका हुन्।
न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ४२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा २ सय ४१ रन जोडेपछि खेल सुपर ओभरमा धकेलिएको थियो। सुपर ओभरमा इङ्ल्यान्डले प्रस्तुत गरेको १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले पनि १ विकेट गुमाउँदै १५ रन जोडेपछि सुपर ओभरसमेत टाई भएको थियो। समान १५ रन जोडे पनि खेलमा प्रहार गरेको बाउन्ड्रीको आधारमा इङ्ल्यान्ड भाग्यमानी बनेको थियो।
यसअघि अस्ट्रेलियाका पूर्व क्रिकेट अम्पायर सिमोन टाउफेलले इङ्ल्यान्डले सनसनीपूर्ण खेलमा न्युजिल्यान्डलाई स्तब्ध पार्दै पहिलो पटक विश्वकप क्रिकेट उपाधि जित्दा दिइएको अतिरिक्त रनको निर्णय गलत भएको प्रतिक्रिया दिएका थिए।
‘इङ्ल्यान्डको खातामा १ रन र ४ अतिरिक्त गरी ५ रन मात्र जोडिनुपर्ने थियो। तर ६ रन जोडियो,’ ५ पटकका आइसिसी अम्पायर अफ दी इयर टाउफेलले भनेका थिए, ‘बेन स्टोक्सको सट्टा एडिल रसिदले अन्तिम ओभरको पाँचांै बलमा खेल्नुपर्ने थियो।’
टाउफेलले खेल अम्यायरहरूको भने बचाउ गर्दै यसै नतिजाको आधारमा प्रतियोगिता छायामा परेको भन्न नहुने समेत बताएका थिए।
‘जब मैले टिभी रिप्ले हेरें, तब मलाई मेरो गल्ती भएको थाहा भयो,’ श्रीलंकाका पूर्व टेस्ट खेलाडीसमेत रहेका धर्मसेनाले दी सन्डे टाइम्ससँगको कुराकानीमा भने, ‘हामीसँग मैदानमा टिभी रिप्लेको सुविधा थिएन। मैले एकल निर्णय लिएको थिइनँ। म्याच रेफ्री र अन्य अम्पायरसँगको परामर्शमा निर्णय लिएको थिएँ। उनीहरू सबैले बेन स्टोक्सले दोस्रो रन पूरा गरेको बताएका थिए। त्यसपछि मात्र मैले ६ रनको निर्णय दिएको थिएँ।’
अम्पायर धर्मसेनाद्वारा गल्ती स्वीकार
The umpires interact with England's captain Eoin Morgan, left, during the Cricket World Cup final match between England and New Zealand at Lord's cricket ground in London, England, Sunday, July 14, 2019. (AP Photo/Aijaz Rahi)


