यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने : मन्त्रिपरिषद

यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नचल्ने : मन्त्रिपरिषद
Spread the love

 

काठमाडौं, भदौ १५ (ई-रैवार)

सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगनलाई भदौ मसान्तसम्म लम्ब्याएको हो ।

यसअघि कोरोना संक्रमण बढेसँगै भदौ १५ सम्म स्थगित भयो । त्यसको दुई दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले अन्तरजिल्ला यातायात र अन्तरिक हवाई उडान भने भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको जनाएको छ । यस्तै विद्यालय र कलेजसहितका शैक्षिक संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको एक मन्त्रीले बताएका छन ।

त्यस्तै मन्त्रिपरिषद्को आजको बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागेको नियमित उडान केही थप्ने सैद्धान्तिक निर्णय गरेको छ । यसबारेमा सम्बन्धित मन्त्रालयले कार्ययोजना तयार पार्ने बताइएको छ ।

यसअघि सरकारले दैनिक पाँच सयभन्दा बढी नागरिक नल्याउने निर्णय गरेको थियो । दसैँ, तिहार, छठ, इदलगायत पर्व नजिकिँदै गरेकाले यति सङ्ख्याले मात्रै नपुग्ने भएर नियमित उडान थप गर्न लागेको स्रोतले जानकारी दियो । यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रवास कमिटीले पनि उडान थप गर्न आग्रह गरेको थियो ।

यस्तै सरकारले कुनै कम्पनीले शतप्रतिशत पीसीआर परीक्षण, टिकट शुल्क र क्वारेन्टिन खर्च बेहोर्ने भए ती कम्पनीका लागि पनि उडान थप गर्ने सैद्धान्तिक निर्णय गरेको छ । यसो गर्दा उडान सङ्ख्या बढ्ने टिकटमा प्रतिस्पर्धा भएर भाडादर सस्तो हुने पनि मन्त्रिपरिषद् स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार अब कुनै कम्पनीले पीसीआर टेष्ट, होटल क्वारेन्टिनसहित सबै खर्च व्यहोर्ने गरी नेपाली कामदारलाई नेपाल पठाउन चाहन्छ भने ५०० को कोटाभन्दा बाहिर पनि विदेशबाट ल्याउन दिइनेछ ।

साथै विदेशी कामदार लिने निर्णय गरेका मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णयसमेत गरेको छ । मन्त्रिपरिषद् बैठकले ल्हासा र हङकङका लागि महाबाणिज्यू दूतसमेत नियुक्त गरेको छ ।