विदेशमा अलपत्र नेपालीका लागि आजदेखि पाँचौं चरणको उद्धार उडान हुने

विदेशमा अलपत्र नेपालीका लागि आजदेखि पाँचौं चरणको उद्धार उडान हुने
Spread the love

 

काठमाडौं, भदौ १ (ई-रैवार) 

महामारीका रुपमा फैलिएको कोरोना महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज देखि पाँचाँै चरणको उद्धार उडान हुँदैछ । नेपालका दुई एयरलाइन्स नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन आजदेखि उद्धार चार्टर्ड उडान गर्न लागेका हुन् ।

नेपाल एयरलाइन्सले भदौ १५ सम्म उद्धार उडान गर्ने छ भने हिमालय एयरलाइन्सले भदौ १४ सम्मको उद्धार उडान गर्ने बताइएको छ । सरकारले आजदेखि नै आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान खोल्ने घोषणा गरे पनि महामारी राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा तीब्र रुपमा फैलिएपछि हालैको मन्त्रिपरिषद् बैठकले भदौ १५ सम्म व्यावसायिक उडान स्थगन गर्ने निर्णय गरिसकेको छ ।

विदेशमा अलपत्र नेपाली ल्याउन उद्धार उडान भने नियमित हुनेछ । सरकारले अबको उद्धार उडानमा दैनिक पाँच सय जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ । तीमध्ये दुई सय जनालाई सरकारले आफ्नै खर्चमा ल्याउने छ भने तीन सय जना आफैं टिकट काटेर आउने छन् । स्वदेश फर्कने नेपालीलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइने बताइएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को विवरणअनुसार साउन ३० गतेसम्म विदेशबाट फर्कने नेपालीको संख्या ५१ हजार चार सय ४१ रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्सले दोहाबाट, हिमालय एयरलाइन्सले क्वालालम्पुर र दोहाबाट तथा फ्लाई दुबईले दुबईबाट नेपालीको उद्धार उडान गरी स्वदेश फर्काउने तालिका छ ।