क्‍वारेन्टिनमा करेन्ट लागेर एक महिलाको मृत्यु

क्‍वारेन्टिनमा करेन्ट लागेर एक महिलाको मृत्यु
Spread the love

कञ्‍चनपुर, साउन २७ (ई-रैवार)

कञ्‍चनपुरको कृष्णपुर नगरपालिका-६ मा रहेको एक क्‍वारेन्टिनमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

कृष्णपुर– ६ स्थिति महाकाली नमुना माध्यमिक विद्यालय, वसन्तपुरमा रहेको क्‍वारेन्टिनमा करेन्ट लागेर मंगलबार २३ वर्षीया राधा वडको मृत्यु भएको मृतकका जेठाजू लक्ष्मण वडले पुष्टि गरेका छन् ।

उनका अनुसार मृतक राधा, उनका श्रीमान शम्भु वडसहित परिवारका ६ जना सदस्य मंगलबार नै भारतको बैंग्लोरबाट आएका थिए । उनीहरु क्‍वारेन्टिनमा पुगेर सरसफाईका लागि धारामा जाने क्रममा धारमा जोडिएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो ।

उनलाई करेन्ट लागेर छटपटिँदासमेत कोरोना सर्छ भन्‍ने त्रासले कसैले पनि उद्धार नगरेको पीडित परिवारको गुनासो छ । नगरपालिकालाई खबर गर्दा समेत एम्बुलेन्स नभएको जवाफ फर्काएको र प्रहरीले पनि बेवास्ता गरेको बताइएको छ ।

कसैले सहयोग नगरेपछि उनका जेठाजूले पिठ्यूँमा बोकेर तीन किलोमिटर टाढा पुर्‍याएपछि ‘अटोरिक्सा’ पाइएपछि उक्त रिक्सामा राखेर अत्तरियास्थित पदमा अस्पताल पुर्‍याइएको थियो । पद्‌मा अस्पताले उनलाई सेती प्रादेशिक अस्पताल रिफर गरेको थियो ।

सेती अस्पताल पुर्‍याएको केही समयपछि नै उनको मृत्यु भएको हो ।

यसअघि उक्त धारामा जोडिएको मोटरबाट करेन्ट लागेर एक कुकुर पनि मरेको र धारामा जाने अन्य व्यक्तिलाईसमेत करेन्टको झड्का लागेको थियो । पटक-पटक उक्त विद्युतको तार बनाउन आग्रह गर्दा क्‍वारेन्टिन व्यवस्थापले कुनै वास्ता नगरेका कारण आफ्नो परिवारको सदस्यले मृत्युवरण भएको पीडित परिवारको गुनासो छ ।