मोहना र पथरैया देखिन थाल्यो डल्फिन

मोहना र पथरैया देखिन थाल्यो डल्फिन
Spread the love

टीकापुर साउन १४(ई-रैवार):  मोहना र पथरैया नदीको दोभानमा  नदीमा पानीको सतह बढेसँगै डल्फिन देखिन थालेका छन्। डल्फिनका बारेमा लामो समयदेखी अध्ययन गर्दै आएका विजयराज श्रेष्ठले मनसुन ढिलो गरी सुरु भएकाले डल्फिन देखिन ढिलाई भएको बताए। जिल्लाको दक्षिणी भेगका मोहना, पथरैया, काँडा र कन्द्रा नदीमा हरेक वर्षायाममा सहजै मान्छे पछिको चेतनशील प्राणीका रुपमा चिनिने डल्फिन देख्न सकिन्छ। यी नदीमा डल्फिन असारदेखी भदौ महिनासम्म रहन्छ। स्थानीयका अनुसार नदीमा पानीको सतह नघटे असोज महिनासम्म पनि डल्फिन देख्न सकिन्छ।
अन्य महिनामा डल्फिन नजिकैको कर्णाली नदीतर्फ लाग्छन्। यहाँ ग्याँगेटिक जातको डल्फिन पाईन्छ। यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बंगलादेशमा मात्रै पाईन्छ। सरकारले वि.सं. २०२९ मा डल्फिनलाई सूचीकृत गरेको थियो। यसलाई मान्छे पछिको चेतनशील प्राणीका रुपमा लिईन्छ। यो माशांहारी प्राणी हो। यसले मुख्य आहारका रुपमा माछा, घोँगी लगायत खान्छ। यसले बच्चा जन्माउँछ। वर्षमा एक वा एकै पटक दुई वटासम्म बच्चा जन्माउने गरेको अध्ययनकर्ता बताउँछन्। डल्फिनले आफ्नो बच्चालाई मानिसले झैं दूध चुसाउँछ। स्थानीयका अनुसार संसारबाटै लोपोन्मुख अवस्थामा रहेको डल्फिन कैलालीका नदीहरुमा समेत संकटमा छ। आहार, बासस्थान, पानी प्रदुषण लगायतका कारण डल्फिन संकटमा पर्दै गएकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन्।