काठमाडौं जेठ। बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्ने क्रमले जेठमा पनि निरन्तरता पाएको छ । लामो समयदेखि थुप्रिएको ऋण दिन मिल्ने रकम (अधिक तरलता) नघटेको, कर्जाको माग अपेक्षित रूपमा बढ्न नसकेको लगायत कारण बैंक तथा वित्तीय संस्थामा जेठमा निक्षेपको ब्याजदर औसत सामान्य प्रतिशत विन्दुले घटेको हो ।
निक्षेपको ब्याजदर घटेसँगै आधार दर (कर्जाको ब्याज निर्धारणको आधार) घटेकाले ऋणको ब्याज पनि स्वतः घटेको बैंक तथा वित्तीय संस्थाले जनाएका छन् ।नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको मासिक तथ्यांकले पनि निक्षेपसँगै ऋणको ब्याजदर निरन्तर घटेको देखाउँछ । यसअनुसार गत चैतमा वाणिज्य बैंकहरूको ऋणको औसत ब्याजदर ६.७७ प्रतिशत छ । यो हालसम्मकै न्यून हो । गत फागुनमा वाणिज्य बैंकहरूको औसत ब्याजदर ६.९० प्रतिशत थियो । चैतमा फागुनको भन्दा पनि तल झरेको हो ।जेठका लागि वाणिज्य बैंकहरूले प्रकाशित गरेको निक्षेपको ब्याजदर औसतमा सामान्य दरले घटाएका छन् । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको औसत ब्याजदर केही घटेको हो । यसअनुसार जेठका लागि साधारण बचतको औसत अधिकतम ब्याजदर ३.११५ प्रतिशत छ । वैशाखमा यस्तो ब्याजदर ३.१८१ प्रतिशत थियो । जेठमा बैंकहरूको एकवर्षे व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.३४३ प्रतिशत छ । वैशाखमा यस्तो ब्याजदर ४.३९५ प्रतिशत थियो ।
जेठका लागि ७ बैंकले मुद्दती निक्षेपको ४ वटाले साधारण निक्षेपको ब्याजदर घटाएका छन् । एउटा बैंकले साधारण र मुद्दती दुवै निक्षेपको ब्याजदर बढाएको छ । तर १५ बैंकले साधारणको र १२ बैंकले मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । सिद्धार्थ बैंकले भने ब्याजदर बढाएको छ । सिद्धार्थले ४ प्रतिशतबाट बढाएर ब्याजदर ४.०५ प्रतिशत दिने भएको हो ।
जेठमा निक्षेपमा सबैभन्दा धेरै ब्याज राष्ट्रिय वाणिज्य बैंकबाट पाइने भएको छ । यो बैंकले ४.७५ प्रतिशत दिने भएको हो । कुमारी बैंकबाट सबैभन्दा कम ३.९६ प्रतिशत मात्रै ब्याजदर पाइने भएको हो । यसरी निक्षेपको ब्याजदर घट्दै गएपछि सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा तिर्ने ब्याजदर (भारित औसत ब्याजदर) गत चैतमा औसत ६.७७ प्रतिशतमा झरेको छ । यो हालसम्मकै न्यून हो । यस्तो ब्याजदर आर्थिक वर्ष २०७९/८० मा अधिकतम १३.०३ प्रतिशतसम्म पनि पुगेको थियो, जुन पछिल्ला वर्षमा निरन्तर घटिरहेको छ । राष्ट्र बैंकका अधिकारी तथा वित्तीय क्षेत्रका जानकार पनि ऋणको ब्याजदर इतिहासकै न्यून अवस्थामा रहेको दाबी गर्छन् ।बैंकहरूमा विभिन्न शीर्षकका कर्जाको ब्याजदर फरक–फरक छ । ती सबैको औसत ब्याजदर ६।९० प्रतिशत हो । तर ऋणीले बैंकबाट ऋण लिँदा यही दरमै पाउँछन् भन्ने हुँदैन । बैंकअनुसार अथवा एउटै बैंकमा पनि शीर्षकअनुसार फरक–फरक ब्याजदर तिर्नुपर्छ । हालसम्म उपलब्ध तथ्यांकका आधारमा अहिले कर्जाको भारित औसत ब्याजदर ऐतिहासिक रूपमै सबैभन्दा न्यून विन्दुमा रहेको राष्ट्र बैंकका अधिकारी बताउँछन् । कुनै वर्ष निक्षेपको औसत ब्याजदर अहिलेभन्दा कम भए पनि गत चैतसम्मको ऋणको भारित औसत ब्याजदर सबैभन्दा न्यून विन्दुमा झरेको उनीहरूको भनाइ छ ।
ऋणको ब्याजदर कम हुँदा निक्षेपकर्ताको आय घट्नुका साथै लगानी अनुत्पादक क्षेत्रमा जाने सम्भावना रहन्छ । ऋणको ब्याजदर घट्दा निक्षेपको ब्याजदर पनि स्वतः घट्छ । यसले ऋणीलाई राम्रो भए पनि पुँजी पलायनको जोखिम रहन्छ । अहिले मुद्रास्फीति दर न्यून भएकाले पनि वास्तविक ब्याजदर (रियल इन्ट्रेस्ट) सकारात्मक छ । अपेक्षित रूपमा कर्जा नबढ्ने र निक्षेपको ब्याजदर पनि न्यून रहँदा पुँजी पलायनको जोखिम रहने जानकार बताउँछन् । ‘नेपालको भन्दा भारतमा थोरै मात्र ब्याजदर बढी हुँदा पनि सीमा क्षेत्रका व्यापारीमार्फत पुँजी पलायन हुने गर्छ । अहिले झन् नेपालमा ब्याजदर कम छ । यसकारण पुँजी पलायन हुनु नौलो कुरा भएन,’ एक अर्थविद्ले भने ।
राष्ट्र बैंकले २०६९ (सन् २०१२) देखि निक्षेप र कर्जाको औसत ब्याजदर गणना गर्न थालेको हो । २०६९ अघि यति न्यून ब्याजदर नरहेको राष्ट्र बैंकका अधिकारीको भनाइ छ । २०६९ असारमा ऋणको भारित औसत ब्याजदर १२.४० प्रतिशत थियो । आर्थिक वर्ष २०७७/७८ असारमा बैंक तथा वित्तीय संस्थामा ऋणको ब्याजदर औसत ८.४३ प्रतिशत थियो । त्यसयता ऋणको ब्याजदर उकालो लागेको थियो ।


