बागलुङ असोज। बागलुङको गलकोटमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ताराखोलाबाट हटियातर्फ आउँदै गरेको पिकअप जीप दुर्घटना हुँदा २४ वर्षीय युवकको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ग १ ज ६१०० नम्बरको पिकअप जीप गलकोटको गाईघाट नजिकै चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका गलकोट नगरपालिका(३ का २४ वर्षीय दिनेश थापाको उपचारका क्रममा गलकोट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो।
त्यस्तै, दुर्घटनामा घाइते भएका ४३ वर्षीय विरबल परियारलाई थप उपचारका लागि पोखरा पठाइएको छ। उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ। अर्का घाइते २४ वर्षीय मिलन परियारको अवस्था पनि मध्यम रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटना हुँदा जीपमा ८ जना यात्रु सवार थिए। प्रहरीले जीपका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।


