बुटवल, साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुन तस्करी प्रकरणमा गहिराइ अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउने बताएका छन् ।नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा पौडेलले सुन तस्करी प्रकरणमा भरियालाई देखाएर उम्किन नमिल्ने भन्दै गहिराइमा गएर अनुसन्धान हुनुपर्ने बताएका हुन् ।सुन प्रकरण हलुका विषय हैन, गृह र अर्थ मन्त्रालयलाई थाहा नभई त्यति धेरै सुन कसरी बाहिरियो रु’ पौडेलले भने, ‘भरियाको टाउकोमा दोष थोपरेर उम्कन मिल्दैन, यसको गहिराइमा पुगेर अनुसन्धान नभए हामीले नै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउन सक्छ ।’भ्रष्टाचारविरुद्ध पार्टीले आक्रामक ढंगले आवाज नउठाए जनताले साथ नदिने उनको भनाइ छ ।संघीयता खर्चिलो र बोझिलो भएको भन्दै उनले केन्द्रदेखि प्रदेशसम्मका सांसद र मन्त्री तथा कर्मचारीको संख्या घटाउनुपर्ने समेत बताए । ‘संघीयता असाध्यै खर्चिलो र बोझिलो भएको छ, यसले संघीयता बलियो र दिगो हुन्न त्यसैले म सहित केही साथीहरुले संघीय संसद २०१ सदस्यीय, राष्ट्रिय सभा ३५ सदस्यीय, संघीय मन्त्रिमण्डल १५ जनाको र प्रदेश मन्त्रिमण्डल ५ जनाको हुनुपर्छ भन्ने प्रस्ताव पार्टीमा राखेका छौं ।’संघीयतालाई बलियो र दिगो बनाउने भए सांसद, मन्त्री र कर्मचारीको संख्या घटाउनैपर्ने उनको धारणा छ । ‘संघीयतालाई चुस्त र छरितो बनाउन पहिला सांसद र मन्त्रीको संख्या घटाउने, त्यसपछि कर्मचारीको संख्या घटाउनपर्छ,’ उनले भने ।
सुन तस्करी प्रकरणमा गहिराइ अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्नेछ : प्रदीप पौडेल


