एकीकृत समाजवादीले एमसीसीलाई संसद्‍मा टेबल गर्न दिने, यथास्थितीमा पारित गर्न नसक्ने

Spread the love

काठमाडौँ : सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले संसद्‌मा दर्ता भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता टेबुल गर्न दिने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले यथास्थितीमा पारित गर्न नसकिने तर संसद्‌मा छलफलका लागि टेबुल गर्न दिने निर्णय गरेको हो ।

एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठका अनुसार एकीकृत समाजवादीले यथास्थितिमा अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई पारित गर्न नसकिने स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको छ । यद्यपि, एमसीसीलाई संशोधन गरेरमात्र पारित गर्न सकिने निर्णय गरेको छ ।

‘टेबल गर्ने कुरामा हाम्रो धेरै आपत्ति छैन । संसद्मा छलफल गर्न पाउनुपर्छ । तर यसका केही विषयहरू स्पष्ट हुनुपर्छ । जबरजस्ती टेबुल गरिने छैन,’ उनले भने, ‘यसका लागि सहमति हुनुपर्छ । संसद्को अवरोध हट्नुपर्छ । अनि मात्र टेबल गर्ने वातावरण बन्नसक्छ ।’ जबरजस्ती टेबल गर्न नदिन आफूहरूको कोसिस रहने तर त्यसो गरिए त्यसबारे आवश्यक निर्णय सचिवालयले गर्ने खतिवडाको भनाइ छ ।

एमसीसीको बारेमा पार्टीको १२ औँ सचिवालय बैठकले झलनाथ खनालको संयोजकत्वमा प्रमेश हमाल, विजय पौडेल र जगन्नाथ खतिवडासहितको अध्ययन कार्यदलको बनाएको थियो । सो कार्यदलले १४ औँ बैठकमा एमसीसीबारे रिपोर्ट प्रस्तुत गरेको थियो । सोही रिपोर्टबारे खनालले विवरण प्रस्तुत गरेका थिए । आजको बैठकमा २५ सदस्यले धारणा राखेका थिए ।

स्थायी कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे १६ बुँदे व्याख्या गर्दै अन्तिममा टेबुल गर्न दिने निष्कर्ष सुनाएका थिए । एमाले र कांग्रेसबीचको सम्भावित वैकल्पिक गठबन्धनको बन्‍ने जोखिम भएपछि नेकपा एकीकृत समाजवादीले बीच बाटो अपनाउँदै एमसीसी टेबुल गर्न दिने निर्णयमा पुगेको हो ।

एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनबीच नै खटपट भएपछि नेकपा एकीकृत समाजवादीले गठबन्धन जोगाउने मझधारको बाटो लिएको छ । यसअघि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संसद्‌मा टेबुल गर्न नदिने अडान लिएका थिए । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी अगाडि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवादमा सक्रिय थिए ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे सत्ता गठबन्धनमा विवाद रहेको छ । विवादका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि त्यसलाई संसद्मा टेबल गर्न सकिरहेका छैनन् । यहीबीचमा बसेको सर्वदलीय बैठकमा एकीकृत समाजवादीले एमसीसीबारे निर्णय गर्न समय माग गरेको थियो ।