काठमाडौं : नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार एमसीसीबारे ठोस निर्णय गर्न नयाँ बानेश्वरस्थित अर्याल होटलमा बिहान ११ बजेपछि बैठक बस्ने भएको हो ।
‘मुल रुपमा आजको बैठकको एजेण्डा एमसीसी नै हो । यो भन्दा अर्को एजेण्डा छैन’, उपमहासचिव तुलाधरले भने, ‘एमसीसीसँग जोडिएका अन्य कुराहरुमा गठबन्धनको भविष्य, हाम्रो भुमिकालगायतका बारेमा छलफल हुन्छ र निर्णयमा पुग्छौ ।’
नेता तुलाधरले एमसीसीका सम्वन्धमा धेरै अध्ययन गरिएको बताए । ‘यो बीचमा धेरै अध्ययनहरु भएका छन, केपी ओलीले लुकाएका दस्तावेजको पनि अध्ययन भएको छ । उनीहरुले गरेका हर्कतहरुका बारेमा पनि अध्ययनको संक्षिप्त रिपोर्ट पेश हुन्छ । त्यसैमा आधारित भएर स्थायी कमिटीका सदस्यहरुले धारणा राखेपछि निर्णयमा पुगिन्छ’, नेता तुलाधरको भनाइ छ ।


