एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन अब प्रदेश सरकारले गर्ने

Spread the love

काठमाडौँ : एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने भएको छ । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएको थियो ।

यसपटकको एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्नेगरी राष्ट्रिय परीक्षा बोर्डले तयारी अघि बढाएको हो। परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले यस वर्षको एसइई परीक्षा वैशाखमा गर्ने र प्रदेश सरकारको सहकार्यमा बोर्डले तयारी अघि बढाएको जनाएका हुन।

अध्यक्ष डा। शर्माले संविधानलेनै विद्यालय शिक्षा स्थानीय सरकारको अधिकारमा दिएको बताउँदै यसपटकको एसइई परीक्षा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई दिने बोर्डले तय गरेको बताए।

संसद्को स्वास्थ्य तथा शिक्षा समितिले समेत दुईपटक एसइई खारेजीको निर्देशन दिइसकेको छ। ‘स्वास्थ्य तथा शिक्षा समितिले दिएको निर्देशन र संविधानको व्यवस्थासमेत कार्यान्वयन गर्न यसपटक बोर्डले एसइई सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई दिने भएको हो,’ अध्यक्ष शर्माले भने, ‘बोर्डको प्रदेश कार्यालयमार्फत प्रदेश सरकारसँग सहकार्य गरेर परीक्षा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले गर्छ। सबै प्रदेशमा परीक्षाको स्तर कायम गर्न प्रश्नपत्र बनाउने र छपाई गर्ने काम बोर्डकै अधिकारमा हुन्छ। यसको लागि सबै प्रदेशका विज्ञहरूसँग छलफल भइरहेको छ। राय प्राप्त भएअनुसारै प्रश्नपत्र बोर्डले छापेर पु¥याउने काम गर्छ। उत्तर पुस्तिका भने प्रदेशले नै छाप्ने हो। कपी परीक्षण पनि प्रदेशबाटै हुन्छ। नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने काम बोर्डलाई शिक्षा ऐनले नेै दिएकोले यो काम बोर्डले गर्छ।’

विद्यालयहरूबाट प्राप्त रजिष्ट्रसनको तथ्यांकअनुसार यसपटक ५ लाख १० हजार विद्यार्थीले एसइईको लागि रजिष्ट्रेसन भरेका छन्। संविधानमा भएको व्यवस्था अनुसार हालको अवस्थामा कक्षा ८ को परीक्षा स्थानीय सरकारले कक्षा १० को परीक्षा प्रदेश सरकारले र विद्यालय शिक्षाको अन्तिम तह कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने व्यवस्था छ।

‘कक्षा १० को अन्तिम परीक्षा एसइईको सवालमा नीतिगत सुझाव दिने जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डको हो। यसामा कुनै अन्योल नै छैन,’ अध्यक्ष शर्माले भने, ‘मैले बोर्डको अध्यक्षको हैसियतले भन्नुपर्दा यसपटकको एसइई प्रदेशलाई नै सञ्चालन र व्यवस्थापन गर्न दिने बोर्डको तयारी अघि बढेको छ।

कक्षा ११ को पठनपाठन र भर्नामा कुनै नकारात्मक असर नपर्नेगरी बोर्डले वैशाखमा परीक्षा सञ्चालन गर्न प्रदेश सरकारसँग समन्वय गरिरहेको छ।’ उनले परीक्षाको तयारीबारे बताए, ‘माध्यामिक शिक्षा परीक्षा सञ्चालनसम्बन्धी नियमावलीअनुसार तीन महिनाअघि परीक्षाको तालिका सार्वजनिक गर्नुपर्छ। अब केही दिनमै बोर्डले तालिका सार्वजनिक गर्नेछ।’ उनले यसपटक एसइई परीक्षाबारे कुनै अन्योल नभएकाले परीक्षाको तयारी गर्न सहज वातावरण बनेको समेत दाबी गरे।

‘शैक्षिकसत्रको सवालमा कुनै पनि प्रभाव नपर्नेगरी परीक्षा हुन्छ,’ उनले भने, ‘संघीयताको मर्मअनुसारै यसपटक एसइई सञ्चालन र व्यवस्थापनदेखि नतिजा प्रकाशन र प्रमाणीकरण गर्नेसम्मको कार्य हुन्छ। कुनै अन्योल छैन।’