सौराहा मंसिर १३(ई-रैवार)
नेकपा एमालेको १० औँ महाधिवेशन चितवनको सौराहामा चलिरहेको छ । जहाँ अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलका बिचमा प्रतिस्पर्धा भईरहेको छ । लामो समय सर्वसम्मतीको प्रयास भएपनि रावलले अडान नछाड्दा चुनाव हुने भएको छ ।
यद्यपी रावल चुनाव जित्ने सम्भावना क्षीण छ । एमाले फुट्दा अन्तिम समयमा एमालेमै बस्ने निर्णय गरेका रावल यतिबेला पार्टीभित्र पनि निकै चुपुवामा परिरहेका छन् । पार्टी अध्यक्ष ओलीको निरन्तर पेलानमा परेका रावल अन्ततः उनैसंग अध्यक्षमा भिडिरहेका छन् ।
यस्तोमा एउटा प्रश्न उब्जिएको छ, उनी चुनाव हारे के हुन्छ ?
धेरैले सजिलै लख काट्छन्, उनी माधवकुमार नेपालले निर्माण गरेको पार्टी नेकपा (एकिकृत समाजवादी)मा जान्छन् ।
यस्तै आशंका सौराहामा रहेका एमालेका महाधिवेशन प्रतिनिधीहरु पनि गरिरहेका छन् । सोमबार भोट माग्दै हिँडेका रावललाई प्रतिनिधीहरु चुनावमा हारे पनि पार्टी नछाड्न आग्रह गरिरहेका छन् ।
प्रतिनिधिले रावललाई भने, ‘हारे पनि पार्टी नछोड्नुस्। पार्टी हाँक्न हिम्मत गरेको मानिसले पार्टी छोड्दैन।’
उनले त्यसको जवाफमा आफूले पार्टीलाई विधि पद्दति अनुसार चलाउन अझै सक्रिय हुने बताएका थिए।
सौराहामा सोमबार राति ९ बजेदेखि चुनाव सुरू हुँदैछ।


