मुस्ताङ, कात्तिक २८ (ई-रैवार)
मुस्ताङमा हिमपहिरो जाँदा आज ११ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार हिमपहिरो आएको देखेर भाग्न खोज्दा उनीहरू घाइते भएको हुन ।
मुस्ताङको थासाङ गाउँपालिका-२ नाउरीकोटको सिरानमा पर्ने मानापाथी हिमालको फेदीबाट भीषण हिमपहिरो झरेपछि भागदौड मच्चिँदा घाइते हुनेको संख्या ११ पुगेको मुस्ताङका प्रहरी प्रमुख रामकुमार दानीले बताए ।
प्रहरी प्रमुख रामकुमार दानीका अनुसार शिक्षिका २, कर्मचारी १, शिक्षक १ र ७ विद्यार्थी घाइते भएका छन् । नाउरीकोटस्थित रमला तुलाचनको घरको छानो उडाएको छ। पहिरोका कारण बोक्से खोलाको पानी धमिलो भएको छ । १५० भन्दा धेरै चौरीगाई हराएका छन् ।
बस्तीमाथिको हिमालबाट हिमपहिरो झरेको ठूलो आवाज आएपछि फेदीमा पर्ने कोवाङ गाउँस्थित जनआदर्श माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरू भागदौड गरेका थिए । भागदौडमा घाइते भएकाहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हिमपहिरोपछि मानापाथी र टुक्चेपीक हिमालबाट झर्ने बोक्सी खोलामा पानीको बहाव बढेको बताइएको छ । हिमपहिरो गएको क्षेत्रमा भने स्थानीय भीमप्रसाद थकाली र सकेन्द्र गौचनका गरी १ सय ५० वटा चौरी थिए । ती चौरीबारे यकिन जानकारी भने नआएको स्थानीयहरूले बताएका छन् ।
‘त्यस क्षेत्रमा हामी दुई जनाको गोठ थियो । चौरीहरू हिमपहिरोमा परे । कति बाँचे कति मरे केही अत्तोपत्तो छैन’, थासाङ गाउँपालिका २ नाउरीकोटका चौरीपालक किसान सकेन्द्र गौचनले भने, ‘केही चौरी त पारि पाखामा देखिएका छन् । अरु चौरीबारे जानकारी आएको छैन ।’
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माकाअनुसार थासाङ गाउँपालिका कोबाङ माथि पर्ने टुचुके पिकबाट हिमपहिरो खसेको हो । प्रजिअ शर्माले भने “अहिलेसम्म कुनै भौतिक तथा मानवीय क्षति भएको जानकारी छैन ।”
‘‘घाइतेको नजिकैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । केही घरका छाना उडेका छन् । पशुचौपाया हराएका छन् । विस्तृत क्षतिको विवरण आउन बाँकी छ, क्षति कम गर्न र उद्धारमा खट्न सुरक्षा निकाय तथा युवाहरुलाई निर्देशन गरिएको” उनले भने । उनका अनुसार आज बिहान करिब ११ बजेर ४० मिनेटमा हिमपहिरो गएको हो ।
अहिले प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली घटनाबारे बुझ्न त्यसतर्फ गएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए । पहिरो गएको स्थान गाउँपालिकाको कार्यालयदेखि हिँडेर दुई घन्टा लाग्ने उनले बताएका छन् ।


