काठमाडौं, कात्तिक १९ (ई-रैवार)
आज शुक्रबार मुलुकका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।
वरिष्ठ मौसमविद् निराजन सापकोटाले काठमाडौं उपत्यकामा आज विहान ९.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । ९.६ डिग्री सेल्सियस यो वर्षको आजसम्मको सबैभन्दा न्यून तापक्रम भएको सापकोटालेजानकारी दिए ।
“विस्तारै तापक्रम घट्दै छ । यदि पानी परेको भए चिसो धेरै बढिसकको हुने थियो । तर, पानी नपरेर बादल मात्रै लागेकाले थोरै–थोरै गरेर चिसो बढिरहेको छ ।” पानी नपरेर बादलमात्रै लागि रहने हो भने चिसो बढ्न समय लाग्ने उनको भनाइ छ ।
यसैबीच, आज प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीमा बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति सामान्य बदलीको आँकलन गरिएको छ ।
शनिबार प्रदेश १, २, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आइतबार पनि देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।


