काठमाडौँ, कार्तिक २ (ई-रैवार)
कात्तिक ९ गतेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक दुई दिन सारिएको छ। नेकपा एमालेको आग्रहमा सभामुख अग्नी सापकोटाले बैठक सारेका हुन्।
प्रतिनिधि सभाको बैठक ९ गते १ बजेका लागि डाकिएको थियो। संसद सचिवालयले सूचनामार्फत् उक्त बैठक ११ गते २ बजेका लागि सारिएको जानकारी दिएको हो।
कात्तिक ९ गते एमालेले देशभरका ७५३ वटै स्थानीय तहमा अधिवेशन गर्दैछ। त्यसअघि कात्तिक ६ गते एमालेको देशभरका वडाहरुमा अधिवेशन हुँदैछ।
“मिति २०७८ साल कात्तिक ९ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल कात्तिक ११ गते बिहीबार दिनको २ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरामा सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” महासचिव गौतमले निकालेका सूचनमा भनिएको छ ।
नवौं अधिवेशन अन्तरगत गत भदौ २३ गतेदेखि सुरु यो अधिवेशनको पहिलो बैठकदेखि नै एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको छ । आफ्नो दलले कारवाही गरेका १४ सांसदलाई जोगाएर पार्टी फुटाउन सभामुखले सहयोग गरेको भन्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको हो । एमाले र सभामुख बीचको यो विवादको छिनोफानोका लागि अहिलेसम्म कुनै छलफल सहमति हुन सकेको छैन ।


