मन्त्रिपरिषद् विस्तारमा महत्त्वपूर्ण साथी छुटे, दुःख लागेको छ : प्रधानमन्त्री देउवा

Spread the love

काठमाडौं, असोज २३ (ई-रैवार) 

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरू छुटेको भन्दै दु:ख लागेको बताएका छन् ।

बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा आज देउवाले यस्तो बताएका हुन् ।

केही राम्रा व्यक्तिलाई सरकारमा समेट्न नसेकेकामा दु:ख लागेको देउवाको भनाइ छ । ‘सरकारमा आउनै पर्ने व्यक्ति पनि गठबन्धनका कारण आउन पाउनुभएको छैन, मलाई राम्रोसँग थाहा छ ’ प्रधानमन्त्री देउवाले भने ।

शुक्रबार मात्रै मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री देउवाले विस्तारित मन्त्रिपरिषद्मा पार्टी भित्रका महत्वपूर्ण नेतालाई समेट्न नसकिएको बताउँदै  यो आफ्नो बाध्यता भएको बताए । साथै उनले मन्त्रिपरिषद्मा छुटेका साथिहरुलाई महत्वपुर्ण भुमिमा दिने बताएका छन।

गठबन्धनका कारण पार्टीभित्रका महत्वपूर्ण नेताहरुलाई पनि अवसर दिन नसकेको उनको भनाइ छ । गठबन्धनका अन्य पार्टीमा पनि यस्तै समस्या भएको हुनसक्ने भन्दै उनले यो बाध्यतालाई बुझ्नुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले शुक्रबार १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका थिए। यससँगै संवैधानिक सीमाअनुसार मन्त्रिपरिषद्को आकार पूर्ण अर्थात् २५ सदस्यीय भएको छ। मन्त्रिपरिषद्मा कांग्रेसबाट प्रधानमन्त्री, एक राज्यमन्त्रीसहित १० जना छन्। त्यस्तै माओवादी केन्द्रबाट एक राज्यमन्त्रीसहित ६ जना सरकारमा सहभागी छन्। नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्रीसहित पाँच र जनता समाजवादी पार्टीबाट चार नेता सरकारमा सहभागी भएका छन्।

नवगठित मन्त्रिपरिषद्मा शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या, जनार्दन शर्मा अर्थ र मीनेन्द्रप्रसाद रिजालले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्।

उमाकान्त चौधरी खानेपानी, नारायण खड्का परराष्ट्र, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानुन, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधि, महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन्।

त्यस्तै शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन्। राज्यमन्त्रीहरूमा उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या र बोधमायाकुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त भएका छन्।

यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा सरुवा भएका छन् भने स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ प्रधानमन्त्री कार्यालय पुगेका छन्।

देउवा नेतृत्वको सरकारमा ६ जना महिला सहभागी भएका छन्। माओवादी केन्द्रले तीनजना महिलालाई सरकारमा पठाएको छ भने कांग्रेसबाट उमा रेग्मी, नेकपा एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री र जनता समाजवादी पार्टीबाट रेनुकुमारी यादव मन्त्री बनेका छन्।

कांग्रेसबाट सरकारमा सहभागी हुने रेग्मी र हमाल पहिलो पटक मन्त्री बनेका हुन्। माओवादीबाट देवेन्द्र पौडेल, महेश्वरजंग गहतराज र बोधमाया यादवले पहिलो पटक मन्त्री बन्ने मौका पाएका छन्।

त्यस्तै नेकपा एकीकृत समाजवादीका चारजना नयाँ अनुहार छन्। यस दलबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, कृष्ण (किसान) कुमार श्रेष्ठ र भवानी खापुङ पहिलो पटक मन्त्रीको जिम्मेवारीमा पुगेका हुन् भने जनता समाजवादीबाट रामसहाय यादव पहिलो पटक सरकारमा पुगेका हुन्।

नवनियुक्त मन्त्रीहरूले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिनुका साथै पदभार सम्हालेका छन्।