काठमाडौँ, असोज १७ (ई-रैवार)
यस वर्षको मनसुनको अवधि सकिए पनि मनसुन बाहिरिन भने अझै समय लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनको अवधि सकिए पनि मनसुन बाहिरिन भने अझै समय लाग्ने जानकारी दिएको हो ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनको समयावधि अक्टोबर २ सम्म तोकेको भएपनि मनसुनको प्रभाव अझै कायम रहने जनाएको हो । विभागले यसै वर्षदेखि मनसुन बाहिरिने मिति अद्यावधिक हुँदै सेप्टेम्बर २३ बाट बढेर अक्टोबर २ सम्म तय गरेको हो ।
यो अवधिको मिति अबको ३० वर्षसम्म कायम रहनेछ । मनसुन सुरु हुने मिति पनि एक दिन पछाडि सरेर जुन १० बाट ११ जुन तय गरिएको छ । अझै पनि नेपालमा मनसुनको पूर्वीय वायु नै सक्रिय छ । जसका कारण देशका धेरै भू–भागमा बदलीसहित वर्षा भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागले मनसुन बाहिरिनका लागि पश्चिमी वायु सक्रिय हुनुपर्ने, न्यूनचापीय रेखा बन्न र जल वाष्पको आवतजावतमा कमी आउनुपर्छ । तर, अहिलेसम्म त्यसो हुन नसकेको र पश्चिमी वायुको गतिले पूर्वीय वायु विस्थापित गरेर आकाशमा पश्चिमी वायुको प्रभाव बढेपछि मात्र मनसुन नेपाल बाहिरिने मौसमी प्रवृत्ति रहँदै आएको छ । त्यसो नभएकै कारण यस वर्ष मनसुनी अवधि थप लम्बिने सम्भावना बढेको हो ।
अहिले भारतको विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले नेपालको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।महाशाखाअनुसार हाल प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।
यस्तै प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
आज (आइतबार) बिहान आगामी तीन दिनको मौसम विश्लेषण गरी जारी गरिएको मौसम पूर्वानुमान बुलेटिनअनुसार आइतबार बेलुकीसम्म देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ भने प्रदेश १, प्रदेश २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
भोलि (सोमबार) पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । प्रदेश १ का एक–दुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना छ ।
यसै गरी पर्सी (मंगलबार) केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले छ ।
उक्त स्थानहरूका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेका छ ।


