काठमाडौँ, साउन ३१ (ई-रैवार)
नेपाली कांग्रेसको महाधिवेशन फेरि सरेको छ। भदौ १६ देखि १९ गतेसम्म गर्ने भनिएको महाधिवेशन अब मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय केन्द्रीय समितिले गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यकाल भदौ २३ गतेसम्म मात्रै छ। तर कांग्रेसले भदौ १८ मा वडा अधिवेशन गरेपछि पार्टीमा वैधानिकताको प्रश्न नउठ्ने भन्दै केन्द्रीय महाधिवेशन भने मंसिरका लागि सारेको छ।
पार्टीका केन्द्रीय सदस्यहरुको तीन दिनसम्मको लगातार छलफल गरी महाधिवेशनको मिति मंसिर ९ देखि १३ गतेसम्म पाँच दिनमा सम्पन्न गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
पार्टीको वैैधानिकता कायम हुने गरी महाधिवेशनको तयारीका लागि वडा अधिवेशन भदौ १८ मै गर्ने निर्णय लिइएको प्रवक्ता शर्माको भनाइ छ । काँग्रेसले भदौको १८ गतेबाट नै वडा तहको अधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिक व्यवस्थालाई जोगाएको दावी समेत गरेको छ ।
नेपालको संविधानको धारा २६९ उपधारा ४ अनुसार महाधिवेशन भएको ५ वर्ष ६ महिनाभित्र केन्द्रीय र प्रादेशिक कार्यसमितिको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । तर, काँग्रेस केन्द्रीय कार्य समितिको शनिबार सम्पन्न बैठकले मंसिरको दोस्रो साता महाधिवेशन गर्ने निर्णय गरेको हो ।
कांग्रेस विधानअनुसार चार वर्षको अन्तरालमा महाधिवेशन गर्नुपर्छ। कांग्रेसले १३ औं महाधिवेशन २०७२ सालमा गरेको थियो। देउवाले चार वर्ष नियमित, विधानअनुसार थप एक वर्ष र संविधानअनुसार थपेको छ महिना समय पनि भदौ २३ मा सकिँदैछ।
शनिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशन मंसिरमा गर्ने गरी नयाँ कार्यतालिका ल्याएको छ। महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव गरेको महाधिवेशनलगायतका प्रस्तावहरू केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो।
यस्तै शनिबारको केन्द्रीय समिति बैठकले उपसभापति तथा अरू राजनीतिक दल समायोजन समितिका संयोजक रहेका विमलेन्द्र निधिले प्रस्तुत गरेको प्रतिवेदन पनि अनुमोदन गरेको छ।
यस्तो छ महाधिवेशनको कार्यतालिका:
१. क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने: २०७८/५/२
२. निर्वाचन निर्देशिका बुझाउने: २०७८/५/२
३. वडा अधिवेशन : २०७८/५ / १८
४. गाउँ/नगर पालिका: २०७८/५/ २७
५. प्रदेश क्षेत्र क/ख: २०७८/ ६/१
६. संघीय निर्वाचन क्षेत्र : २०७८/६/ ५
७. जिल्ला : २०७८/६/१०
८. प्रदेश: २०७८/७/१०-१२
९. केन्द्रीय : २०७८/८/ ९-१३


