काँग्रेस पदाधिकारी बैठक आज पनि बस्दै, महाधिवेशन केन्द्रित हुने

Spread the love

काठमाडौँ, साउन १४ (ई-रैवार)

नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी आज पनि बैठक बस्दै छ । बैठक दिउँसो २ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बोलाइएको हो ।

बैठक पनि पार्टीको आशन्न महाधिवेशनमा केन्द्रित हुने कांग्रेसले बताएको छ । भदौ १६-१९ का लागि तय गरिएको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि त्यसको संशोधनका लागि काँग्रेसमा छलफल चलिरहेको छ ।

बुधबारको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन एक दिनको समय दिएको थियो । सो समय आज दिउँसो सकिंदै छ ।

नेपाली कांग्रेसले कोरोनाको अवस्था हेरेर महाधिवेशनको कार्यतालिका संशोधन गर्ने सम्बन्धमा निर्णय लिने जनाएको छ । बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

कांग्रेस महाधिवेशन आउन अब ३४ दिनमात्रै बाँकी छ । तर, निर्वाचन समितिले कम्तिमा पनि ५३ दिनको समय लाग्ने बताएको छ । क्रियाशील सदस्यताको विवादका कारण कांग्रेसको आगामी महाधिवेशन निर्धारित मिति भदौ १६ मा नहुने निश्चित भइसकेको छ ।