डोटी, असार २१ (ई–रैवार)
मानवीय सेवामा अनेक प्रयास संस्था कैलालीका अध्यक्षले आफ्नो ४८औँ जन्मदिनको अवसरमा तेजु स्मृती अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गरेका छन्।
मानवीय सेवामा अनेक प्रयास संस्था कैलालीका अध्यक्ष भक्तराज जोशीले तेजु स्मृती अक्षयकोष स्थापना लागि १५ हजार १ सय ६० रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
अध्यक्ष जोशीले आफ्नो ४८औँ जन्मदिनको अवसरमा ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि १५ हजार १ सय ६० रुपैयाँ नेपाल प्रेस युनियनका उपाध्यक्ष चक्र कुवरलाई हस्तान्तरण गरेका हुन्।
यस्तै अध्यक्ष जोशीले दिपायल शिलगढी नगरपालिका वडा नम्बर ८ लडागडाका २१ जना विपन्न परिवारलाई खाद्यान्न समेत सहयोग गरेका छन्। उनले प्रतिब्यक्ति २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ प्याकेट सोयाविन र १ किलो आयोडिन नुन वितरण गरेका हुन्।
नेपाल प्रेस युनियन डोटी शाखाले संस्थापक अध्यक्ष स्व. तेज बहादुर खड्का ‘तेजु’को स्मृतिमा अक्षय कोष स्थापना गर्न लागेको छ । कोषका लागि विभिन्न, संघ संस्था व्यक्तिहरु, पत्रकार, सामाजिक क्षेत्रका व्यक्तिहरु र राजनीतिज्ञहरुले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका छन् ।
हालसम्म कोष स्थापनाका लागि सवा तिन लाखको हाराहारीमा रकम संकलन भएको शाखाका सचिव पवन महराले जानकारी दिए । लामो समय नेपाली पत्रकारीता जगतमा खर्च गरेका लोकप्रिय रेडियोकर्मी स्व.खड्काले पत्रकारिता तथा सामाजिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै उहाँलाई अमर राख्ने प्रेस युनियनको अभियानमा आफुले पनि सहयोग गरेको जोशीले बताए ।
पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीनबर्षपछि मात्रै कंकाल भेटिएको थियो । जसको डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।
प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ ।


