काठमाडौँ, असार ११ (ई-रैवार)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) परित्याग गर्ने १४ स्थानीय तहका पदाधिकारीको पद गुमेको छ । माओवादी केन्द्र परित्याग गर्ने नेकपा (एमाले)मा प्रवेश गर्ने तीन प्रमुख, छ उपप्रमुखसहित १४ स्थानीय तहका पदाधिकारीको पद गुमेको हो ।
निर्वाचन आयोगले दल त्याग तथा पद रिक्ततासम्बन्धी प्रकाशन गरेको सूचनाअनुसार उनीहरु माओवादी केन्द्रका तर्फबाट वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि हुन् । पद रिक्त स्थानीय तहका पदाधिकारी र सदस्यमा रौतहटका सात, कैलालीका चार तथा ओखलढुङ्गा, महोत्तरी र सिरहाका एकएक जनप्रतिनिधि छन् ।
एमालेमा प्रवेश गरी माओवादी केन्द्र परित्याग गरेकाले उनीहरु निर्वाचित भएको पद स्वतः रिक्त हुने प्रावधानबारे आयोगको ध्यानाकर्षण गर्दै माओवादी केन्द्रले त्यससम्बन्धी सूचना प्रकाशन गर्न पत्राचार गरेको थियो । आयोगको बुधबारको निर्णयले राजनीतिक दलसम्बन्धी नियमावली बमोजिम निजहरुले दल त्याग गरेकाले निर्वाचित पद स्वतः रिक्त रहने जनाउँदै सूचना प्रकाशन गरिएको हो ।



