काठमाण्डौँ, जेठ ३१ (ई-रैवार)
विपक्षी दलका शीर्ष नेताहरुबीच नेकपा एमाले नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा सोमबार भेटवार्ता भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले नेता माधवकुमार नेपालबीच सोमबार भेटवार्ता भएको हो ।
नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा भएको बताइएको छ । भेटवार्तामा गठबन्धनलाई कमजोर बनाउने प्रयास हुनसक्ने भन्दै त्यसबारेमा सतर्क हुने विषयमा छलफल भएको भेटमा सहभागी काँग्रेस महामन्त्री समेत रहेका पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।
महामन्त्री खड्काका अनुसार गठबन्धनलाई अझ दृढ बनाउँदै लैजाने तथा आपसमा शंका उपशंका उत्पन्न गराउने प्रयास हुनसक्ने भएकाले त्यसमा सतर्क हुनुपर्ने कुरामा नेताहरु केन्द्रीत भएर नेताहरुबीच समिक्षा भएको थियो । साथै आफूहरुको गठबन्धन एकले अर्कोलाई उपयोग गर्न नभई राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवं जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न भएको नेताहरुले बताएका छन् ।
त्यस्तै उनीहरुबीच संवैधानिक अंगहरूमा सत्ताको प्रभावका बारेमा समेत सचेत रहँदै खबरदारी गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो । अदालतमा विचाराधीन मुद्धालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नवारे पनि नेताहरुबीच छलफल भएको छ ।
अदालतको निष्पक्षतामा विश्वास, प्रभावित पार्ने काम नगर्न र राज्यका कतिपय अंग र केही संबैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा आंशका, निष्पक्ष र समयमा निर्णय गर्न सरकारको ध्यानाकर्षण गराउने समझदारी नेताहरूबीच भएको स्रोतले बताएको छ ।
‘न्यायालयमाथि सत्ताको विभिन्न किसिमको प्रभाव हुने संकेतहरु देखिन सक्ने भएकाले त्यसमा खबरदारी गर्ने, न्यायालयको स्वतन्त्रता र संवैधानिक मर्यादा र अक्षुणता कायम राख्न आफ्नो तर्फबाट कर्तव्य पालना गर्ने लगायतका विषयमा छलफल भयो’, महामन्त्री खड्काले नेताहरुको भेटवार्तापछि भने, ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रममा कुराकानीहरु भए ।’
पछिल्लो समय गठबन्धनका नेताहरुबीच निरन्तर भेटवार्ता हुँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक जेठ सात गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि नेता नेपालसहितको गठबन्धनले प्रतिनिधिसभा पुनःस्थापना र काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएको छ ।
उक्त रिटमा सर्वोच्चको संवैधानिक इजलासमा आगामी असार ९ गतेबाट निरन्तर बहस हुँदैछ । तर, यो बीचमा प्रधानमन्त्री ओलीले गठबन्धनलाई भत्काउन अनेकन प्रयास गरिरहेका छन् । गत बिहीबारमात्रै सर्वोच्च अदालतले कर्णाली प्रदेशका चार जना सांसदलाई एमालेको महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीलाई अस्वीकार गरेको थियो । साथै सोही आदेशले नेता नेपालसहितलाई गरेको कारवाही समेत निस्क्रिय भएको अवस्थामा नेता नेपाल गठबन्धन छाडेर ओलीतिर जान्छन् कि भन्ने त्रास काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई परेको छ ।


