धनगढी, जेठ ३१ (ई-रैवार)
नेकपा एमाले ओली पक्षका ७ जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ । सुदूरपश्चिम प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै केपी शर्मा ओली पक्षका ७ जनालाई निलम्बन गरेको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी ह्वीप उल्लंघन गरेको आरोपमा नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले ओली पक्षधर सात प्रदेश सांसदलाई निलम्बन गरेको छ ।
निलम्बन परेका प्रदेश सांसदहरु पठानसिंह बोहरा, रतनबहादुर थापा, लिलाधर भट्ट, बलदेव रेग्मी, माया तामाङ बोहरा, नेपालु चौधरी र ग्याल्बोसिंह बोहरालाई निलम्बन गरेको एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गाकुमारी कामीले बताइन् ।
उनीहरुमध्ये बोहरा र थापालाई १५ दिन, भट्ट र रेग्मीलाई १० दिन र अन्य चार जनालाई ७ दिन निलम्बन गर्ने निर्णय गरिएको सचेतक कामीको भनाइ छ । निलम्बनमा परेकाहरुले गत जेठ २५ गते मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णयको विपक्षमा मतदान गरेका थिए । त्यसपछि उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।
संसदीय दलको बैठकमा ओली पक्षका प्रदेशसभा सदस्यहरु पनि सहभागी थिए । संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन नभएकाले निलम्बन गलत भएको ओली पक्षका प्रदेशसभा सदस्य लिलाधर भट्टले बताए ।


