पोखरा, जेठ २९ (ई-रैवार)
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार संविधानको धारा १६८ को ५ बमोजिम पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भए संगै पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आफूलाई समर्थन गर्ने दलहरुबाट एक–एक जना मन्त्री समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।
नवनियुक्त मुख्यमन्त्री पोखरेलको दल नेपाली कांग्रेसबाट कुमार खड्का मन्त्री बनेका छन् भने माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टी (जसपा) बाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङे मन्त्री बनेका छन् ।
मुख्यमन्त्री पोखरेल र मन्त्रीहरुले प्रदेश प्रमुख सीता पौडेलसामु पद तथा गोपनीयताको सपथ लिएका छन् । चारैजना मन्त्री विना विभागीय हुन् ।
वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गरेकी थिइन् । शुक्रबार ५ बजे नै विपक्षी गठबन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।
तर विश्वासको मत गुमाएका पृथ्वी सुब्बा गुरुङले पनि मुख्यमन्त्री पदमा दाबी गरेपछि गण्डकीको राजनीतिले नाटकीय मोड लिएको थियो ।
को हुन नवनियुक्त मुख्यमन्त्री पोखरेल ?

०३९ सालमा तनहुँबाट नवलपरासी सदरमुकाम परासीमा बसाइँ सरेर आउँदा कृष्णचन्द्र नेपालीलाई राजनीतिकर्मी भन्दा पनि सबैले वकिल सा’ब भनेर चिन्थे । त्यतिबेला उनले परासीमा जनपक्षीय ‘ल फर्म’ खोलेर पञ्चायती व्यवस्थाविरोधी समूहका राजनीतिक र अन्य मुद्दा हेर्न थाले ।
पञ्चायतकालमा मधेसी समुदायको बाहुल्यता रहेको परासीमा देखाउने पेसा वकालत गर्ने र भित्रभित्र कांग्रेसको राजनीति थालेका उनै ७१ वर्षीय कृष्णचन्द्रले परासी आएको ३९ वर्षपछि शनिबार गण्डकी प्रदेशको मुख्यमन्त्रीको बागडोर सम्हालेका छन् ।
परासीमा वकालत र पञ्चायतविरोधी राजनीति (नेपाली कांग्रेस त्यतिखेर प्रतिबन्धित थियो) गर्ने भनेर आएको छोटो समयमै उनी कांग्रेसजन र पञ्चायतविरोधी खेमाका कहलिएका वकिल सा’बको रुपमा स्थापित भइसकेका थिए ।
बीपी कोइरालाका विश्वासपात्र बाबु गोवर्धन पोख्रेलको विरासतका कृष्णचन्द्रलाई कांग्रेसजनहरु खोजीखोजी भेट्थे । स्पष्ट बोल्ने र कडा मिजासका वकिल हुन् कृष्णचन्द्र । उनका राजनीतिक सहकर्मी महेन्द्रध्वज जिसी भन्छन्, पञ्चायतविरोधी मुद्दा र कांग्रेस कार्यकर्ताका मुद्दा निःशुल्क हेरेर मन जित्ने काम गर्नु हुन्थ्यो ।’ उनलाई परासीमा अहिले पनि पुराना पुस्ताले वकिल सा’ब नै भनेर चिन्छन् ।
उनको प्रारम्भिकदेखि स्नातकसम्मको शिक्षा भारतको विहारमा भएका कारण (बाबु गोवर्धन शर्मा भारतमा निर्वासनमा रहेकाले) परासीमा मधेसी समुदायमा छिट्टै घुलमिल हुन सफल भए ।
तनहुँमा उनको परिवार नै सक्रिय राजनीतिमा थियो । विद्यार्थी आन्दोलनमा लागेका कारण २०३५ सालमा जेल परे कृष्णचन्द्र । कास्की कारागारमा थुनिए । २०३६ सालको आममाफीमा छुटे । बहुदलको प्रचारमा लागेको आरोपमा फेरि उनका बाबु, दाजु रामचन्द्र पोख्रेल र उनी जेल परे ।
परिवारका सबैजना एउटै जिल्ला तनहुँमा राजनीतिमा सक्रिय रहनुभन्दा अन्य जिल्लामा पनि कांग्रेसको आन्दोलनलाई गति दिने र वकालत पेसा पनि गर्ने भन्दै २०३९ सालमा नवलपरासी बसाइँ झरेका थिए । त्यहाँ आएकै वर्ष उनलाई बीपी कोइरालाले जिल्ला सदस्यमा रहेर काम गर्न अह्राए ।
वकालत पेशासँगै राजनीतिलाई अघि बढाए । गोवर्धनका छोरा भएका कारण कांग्रेसमा उनी बसाइँ सरेर आएको जिल्लामा पनि हाइहाइ नै भए । तनहुँबाट नवलपरासीमा बसाइँ सरेर आएकाहरुको संख्या बाक्लो भएका कारण उनलाई कहिल्यै नवलपरासी फरक जिल्लाझैं लागेन । उनका बाबु गोवर्धन देशभरिबाट बीपीले रुचाउनेमध्येका एक थिए ।
२०४८ सालमा नवलपरासी कांग्रेसको जिल्ला सभापति बनेका उनी लगातार ४ कार्यकाल जिल्ला सभापति बने । २०४८ मै परासीबाट प्रतिनिधि सभाको ९तत्कालीन क्षेत्र नम्बर ४० उम्मेदवार बने । ९ हजार ९ सय मत ल्याएर सद्भावनाका उम्मेदवारसँग पराजित भए । २०६७ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएर राजनीतिक यात्रा जारी राख्दै आएका उनी २०७० मा नवलपरासी क्षेत्र नम्बर ३ ९दुम्किबास अरुणखोला क्षेत्र० बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका भए पनि झिनो मत अन्तरले पुनः पराजित भए ।
राजनीतिमा सक्रिय उनी २०७४ मा नवलपरासी १ ‘क’ बाट प्रदेश सभामा उम्मेदवार बनेर निर्वाचित भए । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेश सभामा विश्वासको मत गुमाएपछि कृष्णचन्द्र नेपाली पोख्रेलले गण्डकी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
भारतमा अध्ययन गर्दासम्म उनको नाम कृष्णचन्द्र पोख्रेल थियो । परीक्षामा फर्म भर्ने बेला प्रोफेसरले ‘पोख्रेल क्या होता है’ भन्दै पोख्रेल फालेर ‘नेपाली’ थर झुण्डाइ दिएका हुन् ।
आफ्ना प्रतिद्वन्द्वी ९माओवादीका० सूर्य न्यौपानेलाई ३ सय ८२ मत अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् उनी ।
४ दाजुभाइमध्ये उनी माइला हुन् । उनका दाजु रामचन्द्र पोख्रेल पनि कांग्रेसका नेता तथा पूर्वसांसद हुन् । भाइ जगदीशचन्द्र पोख्रेल योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । कृष्णचन्द्रका श्रीमती, २ छोरा, २ छोरी, ९८ वर्षकी आमा छन् ।
बाबुसँग भारतमा निर्वासित जीवन बिताउँदा उनले विहार, नरकटियागञ्जबाट माध्यमिक तहको शिक्षा पूरा गरे । र, दरभंगाबाट स्नातक पूरा गरेर नेपालबाट कानुनमा स्नातक गरेका हुन् ।


