सेती प्रादेशिक अस्पतालमा शुक्रबार ५१ जनामा कोरोना पुष्टि, २ जना मृत्यु

Spread the love

धनगढी, जेठ २१ (ई-रैवार)

सेती प्रादेशिक अस्पतालमा शुक्रबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ६५७ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको हाु ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका ६ जना, धनगढी बाहेक कैलालीका ४२ जना र अन्य जिल्लाका ३ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा अस्पतालबाट १० जना निको भएर घर फर्केका छन् भने थप ८ जना नयाँ संक्रमित भर्ना भएका छन्।

सूचना अधिकारी श्रेष्ठले हाल अस्पतालमा ४८ जना संक्रमित उपचाररत छन्। १४ जना आईसीयूमा, ३ जना भेन्टिलेटर र ३२ जना अक्सिजन सपोर्टमा उपचाररत रहेको रहेको बताए।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत २ जना संक्रमितले ज्यान गुमाएका छन्। कैलालीको गोदावरी नगरपालिका–९ का ५० वर्षीय पुरुष र घोडाघोडी नगरपालिका–१ का ५७ वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।