यस वर्षको एसईई पनि आन्तरिक मूल्यांकनबाटै, नयाँ शैक्षिक सत्र असारबाट सुरु हुने

Spread the love

काठमाडौँ, जेठ १८ (ई-रैवार)

यस वर्षको एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनकै आधारमा हुने भएको छ । कोरोना संक्रमणको कारण यस वर्षको एसईई परीक्षा पनि विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा हुने भएको हो ।

मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको कारण राष्ट्रव्यापी रूपमा एसईई परीक्षा सञ्चालन गर्न नसकिने भन्दै विद्यालयको आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय लिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले मन्त्रिपरिषद्को बैठकले एसईई आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको जानकारी दिइन् । एसईई आन्तरिक मूल्यांकनबाट परीक्षा लिने निर्णय भएको छ, उनले भनिन् ।

असार महिनाअघि नै एसईईको आन्तरिक मूल्यांकन सक्ने तयारी रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ । गत वर्ष पनि कोरोना महामारीका कारण आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा तयार पारिएको थियो । यसका लागि राष्ट्रिय परीक्षा बोर्डले छुट्टै कार्यविधि तयार पारेको थियो ।

सोही कार्यविधिका आधारमा विद्यार्थीको मूल्यांकन गर्न लागिएको हो । तर बोर्डले कार्यविधिमा संशोधन हुन सक्ने जनाएको छ । विज्ञहरूले गत वर्षको कमीकमजोरी कार्यविधिमा संशोधन गर्नुपर्ने औंल्याएका थिए ।

गत वर्षको एसईई सञ्चालन कार्यविधिअनुसार विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकनको विवरण सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाइले राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने व्यवस्था थियो । त्यसरी प्राप्त विवरणका आधारमा बोर्डले परीक्षाफल तयारी गरी प्रकाशन तथा प्रमाणीकरणका साथै प्रमाणपत्र जारी गर्ने त्यसमा उल्लेख छ ।

बोर्डले कक्षा १२ को परीक्षा कसरी गर्ने भन्ने निर्णय भने सरकारले लिइसकेको छैन । कक्षा १२ को परीक्षा कसरी गर्ने भन्नेबारे मन्त्रालयले आन्तरिक छलफल थालेको तर निर्णयमा पुगिनसकेको शिक्षा मन्त्रालयका अधिकारीले बताएका छन् । छिट्टै कक्षा १२ को परीक्षाबारे पनि निर्णय लिइने तयारीमा मन्त्रालय रहेको छ ।

त्यस्तै, नयाँ शैक्षिक सत्र असार महिनाबाट सुरु गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय लिएको छ । आगामी शैक्षिक सत्र असार महिनाबाट सञ्चालन गर्ने पनि निर्णय भएको छ, मन्त्रिपरिषद्ले गरेको निर्णयबारे जानकारी दिँदै उनले भनिन् ।