काठमाडौं, जेठ १० (ई-रैवार)
नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले नेपाल र खनालसहित ११ नेतालाई निष्कासन गर्ने निर्णय गरेको हो ।
बालुवाटारमा बसेको बैठकले खनाल–नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरादेवी जैरुलाई लाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
नेकपा एमालेले ११ नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर उनीहरुले जवाफ नै दिएका थिएनन् । उनीहरुलाई काँग्रेस सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनर्स्थापना हस्ताक्षर गरेर पार्टी गतिविधि विरुद्ध लागेको आरोप लगाइएको छ ।
यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
बैठकले थप स्पष्टीकरण सोधिएका नेताहरूमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ,यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।
नेकपा एमालेका नेता झलनाथ खनालले केपी ओली ‘कम्युनिस्ट आन्दोलनको गद्दार’ भएको आरोप लगाएका छन् । “केपी ओली कम्युनिस्ट आन्दोलनका गद्दार हुन् । उनले गर्ने निर्णयले हाम्रो राैँ हल्लिदैन,” उनल भने । ओली पक्षीय स्थायी कमिटी बैठकले खनाल–नेपाल पक्षका सांसदलाई कारबाही गरेपछि नेता खनालले ओलीलाई ‘गद्दार’ भनेका हुन् ।
नेकपा एमालेका नेता भीम रावलले आफूहरुलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद भएको बताएका छन् । सोमबार साँझ सामाजिक सञ्जाल ट्विटमा नेता रावलले केपी ओली पक्षले गरेको निर्णय फुटवादको निरन्तरता भएको समेत उल्लेख गरेका छन् ।
“पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ।यो केपी गुटको फुटवाद कै निरन्तरता हो,” उनले ट्विटरमा लेखेका छन् ।


