कैलाली, जेठ १० (ई-रैवार)
कैलालीको गेटामा कोभिड १९ केयर सेन्टर सञ्चालनमा आएको छ। कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजमा आइतबारदेखि ५० शय्याको कोभिड–१९ केयर सेन्टर स्थापना गरिएको हो ।
सुदूरपश्चिम प्रदेशमा बढ्दै गइरहेको कोरोना संक्रमणदरलाई मध्यनजर गर्दै मेडिकल कलेजमा कोभिड १९ स्याहार केन्द निमार्ण गरिएको गेटा मेडिकल कलेज कोभिड १९ स्याहार केन्द्रका सम्पर्क ब्यक्ती सर्मानन्द भट्टले बताए ।
स्याहार केन्द्रका सम्पर्क ब्यक्ती सर्मानन्द भट्टका अनुसार केयर सेन्टरका लागि धनगढी उपमहानगरपालिकाले एक जना मेडिकल अफिसरसहित ८ जना स्वास्थ्यकर्मी, गोदावरी नगरपालिकाले ७ जना र गौरीगंगा नगरपालिकाले ३ स्वास्थ्यकर्मी खटाएको छ ।
आवश्यक जनशक्ति, अक्सिजन, उपकरणलगायतको तयारी भएको जानकारी दिदै सम्पर्क ब्यक्ती भट्टले बिरामी आएको अवस्थामा आइबारदेखि नै सेवा सुरु गरिएको बताए। यस्तै प्रवक्ता शर्माले आईसीयूमा राखिने प्रकृतिका बिरामीलाई भने सेती प्रादेशिक अस्पतालमा रेफर गरिने बताए।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मातहत रहने गरि संघीय तथा सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाको समन्वयमा कोरोना संक्रमितको उपचारका लागि कोभिड–१९ केयर सञ्चालनमा ल्याइएको हो ।
१ महिनादेखि निर्माणको प्रक्रियामा रहेको आइसोलेसन यसअघि अक्सिजन ग्यास र जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा सेवा सुरुवात गर्नमा ढिलाइ भइरहेको थियो । आइसोलेसन सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख आर्थिक सहयोग र २० जना स्वास्थ्यकर्मी परिचालन गर्ने भएको हो ।
यस्तै धनगढी, गोदावरी र गौरीगंगा नगरपालिकाले समेत केही उपकरण र जनशक्ती खटाएको गेटा मेडिकल कलेज कोभिड १९ स्याहार केन्द्रका सम्पर्क ब्यक्ती भट्टको भनाई छ ।
मेडिकल कलेजमा कोभिड १९ स्याहार केन्द्र सञ्चालनमा आएसगै यहाँका कोरोना संक्रमितलाई थप सहज हुने अपेक्षा गरिएको छ । गेटामा कोभिड केयर सेन्टर सञ्चालनमा आएसँगै शय्या अभावमा सेती प्रादेशिक अस्पतालको आँगनमा संक्रमित राखेर उपचार गर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ ।


