काठमाडौं, वैशाख २८ (ई-रैवार)
कोरोना संक्रमणको दर कम नभएपछि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञाको समय १५ दिन थपेको छ। काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
काठमाडौं जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसलाई आधार मान्दै निषेधाज्ञाको अवधी थपिएको हो ।
काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा विगतको भन्दा थप कडाइका साथ लागू गरिने भएको छ । मंगलबारको बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम गर्न नपाइने र घरमा गरिने विहेमा पनि १० जना भन्दा सहभागी हुन नपाइने निर्णय गरेको छ ।
पछिल्लो समयमा मुलुकभर कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा लम्ब्याउनुपर्ने आवश्यकता देखिएको प्रजिअ पराजुलीले बताए । यसअघि वैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक साता निषेधाज्ञा जारी गरिएको थियो ।


