राष्ट्रपति भण्डारीद्वारा बहुमतको सरकार गठन गर्न आहृवान

राष्ट्रपति भण्डारीद्वारा बहुमतको सरकार गठन गर्न आहृवान
Spread the love

काठमाडौँ, वैशाख २७ (ई-रैवार) 

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा (७६) को २ बमोजिम बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत गुमाए । ओलीले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकारको आह्वान गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा विश्वासको मतको लागि राखेको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने समेतको व्यहोरा संघीय संसद, प्रतिनिधिसभाका सभामुखको पत्र प्राप्त हुन आएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई वैशाख ३० गते बिहीबारका दिन साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि राष्ट्रपतिसमक्ष आफ्नो दाबी पेश गर्न आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

सरकार बनाउन बहुमत पुगने उनीहरुको दाबी छ । नयाँ सरकार गठनको पक्षमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको डा. बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षका १६ सांसद देखिएका छन् । २७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३६ सांसद चाहिन्छ ।