धनगढी, चैत २८ (ई-रैवार)
नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलसहित उनको प्यानल निर्वाचित भएको छ। अध्यक्षका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई ३ हजार बढी मत अन्तरले पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
शनिबार सकिएको मतगणनाअनुसार प्रेस युनियन नेपाल, प्रेस संगठन नेपाल र माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पोखरेलले ६ हजार ९४२ मत पाएका छन् ।
निर्वाचन समितिका सदस्य अधिवक्ता देवेन्द्र झा का अनुसार अध्यक्षमा विजयी पोखरेलले ६ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का प्रत्यासी प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गरिन् । त्यस्तै अध्यक्षका अर्का प्रत्यासीहरु गजेन्द्रसिंह बुढाथोकीले ४ सय ९१ मत र रामप्रसाद दाहालले १ सय ५६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै शर्मा समूहका माधव नेपाललाई हराउँदै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् । महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएकी छन् । उनले शर्मा प्यानलकी दाना केसी सुवेदीलाई हराएकी हुन् ।
समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै पोख्रेल समूहका उदय जिएम निर्वाचित भएका छन् । महासचिवमा भने रोशन पुरी विजय बनेका छन् । उनले शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित गरे ।
खुला सचिवमा रामकृष्ण ज्ञवालीलाई हराउँदै गोविन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन् । महिला सचिवमा सिर्जना अर्याल शर्मा समूहकी निमा काफ्लेलाई पराजित गर्दै विजयी बनेकी छन् । आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् । उनले शाहीमान राईलाई हराए ।
पत्रकारितामा करिब तीन दशकको अनुभव रहेका पोखरेलले दाङबाट पत्रकारिता थालेका हुन्। महासंघको निवर्तमान कार्यसमितिमा उनी उपाध्यक्ष थिए।
सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । उनीहरु सबै पोख्रेल समूहका हुन् ।
यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छ्न् । उनले द्वारिकाप्रसाद काफ्लेलाई पराजित गरे । तीन सदस्यीय लेखा समिति संयोजकमा न्यौपाने, मुकुन्दप्रसाद भण्डारी र देवी सापकोटा निर्वाचित भए।
खुला सदस्यहरुमा बासुदेव शर्मा, माधव पौडेल, रमेश खतिवडा र शिवराज खत्री विजयी भएका छन् । त्यस्तै सरिता तिम्सिना (खस-आर्य महिला), ललिताकुमारी साह (मधेसी), शान्ति आङबुहाङ (आदिवासी जनजाति), सरिता बराइली (महिला-लित), भीषण राई (आदिवासी जनजाति), सञ्चकुमारी लामा तामाङ (आदिवासी जनजाति महिला), प्रकाश धौलाकोटी (दलित), राधा नेपाली (महिला दलित), सुवासप्रसाद साह (सदस्य मधेसी), रिंकुकुमारी मिश्र (मधेसी महिला), नवीन रिजाल (अपांगता), इफ्तखार हसन इकवाल अहमद (अल्पसंख्यक) तर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
त्यस्तै अमर खड्का र दीपेन्द्र रुम्दाली राई प्रदेश १ बाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । प्रदेश २ बाट केसी लामिछाने र शिव पुरी र वाग्मती प्रदेशबाट ध्रुवकुमार रावल र सुनिल खड्का निर्वाचित भएका छन् । गण्डकीबाट प्रदीप काफ्ले र त्रिभुवन पौडेल, लुम्बिनीबाट भवानीप्रसाद पाण्डे र सुशील पोख्रेल, कर्णालीबाट दीपेन्द्र शर्मा र भीमबहादुर सिंह तथा सुदूरपश्चिमबाट उत्तरसिंह विष्ट र भरतबहादुर साह निर्वाचित भएको समितिले जनाएको छ ।
उपत्यकाबाट केन्द्रीय सदस्यमा शान्तराम बिडारी र ज्ञानप्रसाद पौडेल, प्रतिष्ठानतर्फबाट मणि दाहाल र रामकृष्ण अधिकारी केन्द्रीय सदस्य भएका छन् । यस्तै एसोसियटबाट कृति भट्टराई र विकास कार्की विजय भए ।
२५ चैतमा भएको निर्वाचनको परिणाम शनिबार अपराह्न सार्वजिनक भएको हो। नयाँ कार्यसमितिमा प्रेस चौतारीबाट एक, एक जनता समाजवादी पार्टी निकट र स्वतन्त्र एक गरी तीनजना सदस्य मात्र अर्को प्यानलबाट निर्वाचित भएका छन्।
महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता थिए । मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुन लागेको हो ।








